सुर्खेत । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेत कार्यसमिति मार्फत स्वरोजगारमूलक तालिम प्रदान गरिएको छ । जापान इन्टरनेशनल लेबर फाउण्डेशन (जिलाफ)को सहयोगमा सपोर्टिङ्ग ग्रासरुट एक्टिभिटीज (एसजिआरए) कार्यक्रम अर्न्तगत ट्रेड युनियनले हेभी अटोमोबाईल मर्मत सम्बन्धी तालिम दिएको हो ।
गत भदौं १ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको उक्त तालिममा सुर्खेतका ३० जनाले सहभागिता जनाएका थिए । उनिहरुलाई शनिबार (पुस २२ गते) औपचारिक कार्यक्रम मार्फत तालिम प्रमाणपत्र प्रदान गरिएको छ । सहभागीहरुलाई प्रशिक्षक अभिषेक सुनारले प्रशिक्षण गराएका थिए ।
अब उनिहरु व्यवसायिकतामा जोडिने विश्वास लिइएको छ ।
प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सामाजिक विकास समिति सभापति घनश्याम भण्डारीले यो तालिमबाट हेभी गाडी मर्मतका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । यसका लागि थप तालिमको आवश्यक भएको अवस्थामा आफ्ना तर्फबाट साथ दिने प्रतिवद्धता जनाए । तालिमबाट प्राप्त ज्ञानलाई व्यावसायिकतामा जोड्दा कर्णाली समृद्धि योजना लगायतका कर्णाली प्रदेश सरकारका विभिन्न परियोजनाले समर्थन गर्नसक्ने सभापति भण्डारीको भनाई थियो ।
यसैगरी, नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले श्रमसँग जोडिने कार्यका लागि तालिम प्रदान गरेकोमा ट्रेड युनियन कार्य समितिप्रति धन्यवाद ज्ञापन गरे । तालिमले स्वरोजगारमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
साथै, यस किसिमका स्वरोजगारमूलक तालिमहरु सुर्खेत सहित देशभरका विभिन्न ११ जिल्लामा सञ्चालन भईरहेको ट्रेड युनियन सुर्खेतका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । उनका अनुसार शनिबारदेखि सुर्खेतको लेकबेसी नगरपालिकामा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भएको छ । तालिम पश्चात उद्यमशिलतामा जोड्ने मुख्य उद्देश्य रहेको अध्यक्ष पोखरेलले बताए ।
प्रमाण पत्र वितरण कार्यक्रममा नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिकाका सभापति उपेन्द्रबहादुर खड्का, टे«ड युनियन केन्द्रीय सदस्य जय विसी लगायतको उपस्थिति रहेको थियो ।