सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–२ स्थित मानपुर सामुदायिक वन फडानी हुने गरेको छ । वन उपभोक्ता समिति र वन कार्यालयका कर्मचारीहरुबीचको मिलेमत्तो भई फडानी हुने गरेको उपभोक्ताको गुनासो छ । त्यससम्बन्धी छानविन गर्न प्रदेश वन निर्देशनालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी हुँदा समेत न्यायको अनुभूति हुन नसकेको उनिहरुको भनाई छ ।
वन फडानी हुन थालेपछि स्थानीयले त्यसक्रमलाई रोकि दोषीलाई कारबाही गर्न डिभिजन वन कार्यालय र प्रदेश वन निर्देशनालयमा उजुरी दिएका थिए । सो उजुरीमाथी अहिलेसम्म कुनै पनि सुनुवाई नभएको एक उजुरीकर्ता स्थानीयले बताए ।
‘हाम्रो उजुरी सुनुवाई भएन । वन फडानी पनि रोकिएन । उपभोक्ता समितिले उल्टै हामीसँग के गर्न सक्छौं र भन्दै प्रतिशोध साँध्न खोज्छन् ।’ ती उपभोक्ताले भने, ‘उपभोक्ता समिति, वन कार्यालयका कर्मचारी र फडानी गर्ने गिरोहको मिलेमत्तोमा यो काम भईरहेको जस्तो लाग्छ ।’
वन कार्यालयहरुबाट कारबाही नभएपछि उनिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत उजुरी दिएका छन् । उनिहरुले वनका कर्मचारी र उपभोक्ता समिति उपर छानविन गरिदिन माग गरेका छन् ।