दैलेख (गैडाबाज) । दैलेखेको महाबु गाउँपालिकामा अन्तर विद्यालय स्तरीय अध्यक्ष कप तथा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि सुरुवात भएको गाउँ कार्यपालिकाको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम आगामी बिहीबार समापन हुनेछ ।
कृषि मेला प्रदर्शनी तथा सांस्कृतिक प्रवर्द्धन कार्यक्रम समेत रहेको सो कार्यक्रमको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले अन्तरनिहित प्रतिभाको पहिचान गरी स्वस्थ जीवन र खेलकुद प्रवर्द्धन गर्ने अभियान अनुरुप सो कार्यक्रम आयोजना गरिएको बताए । उक्त कार्यक्रम मार्फत विद्यालय तहमा लुकेर रहेको प्रतिभालाई पहिचान हुने विश्वास व्यक्त गरे ।
खेल प्रतियोगितामा गाउँपालिका स्थित सबै माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ । उनिहरुले भलिबल, कबड्डी, छोटा तथा लामो दुरीका दौड, रीले दौड, लङजम्प, त्रिपल जम्प, सटफुट, ज्याभलिङ थ्रो लगायतका खेलहरुमा प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख कृष्णबहादुर वलीले जानकारी दिए ।
साथै, महाबु गाउँपालिका स्थित कृषकहरुले उत्पादन गरेका कृषि उपज वस्तु समेत प्रदर्शनीमा राखिएको छ । कार्यक्रम अवधिभर ती वस्तुहरु अवलोकनका लागि राखिएको कृषि शाखा प्रमुख बलबहादुर विष्टले जानकारी दिए । गाउँपालिकाको उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तरगत प्रदर्शनीमा राखिएको कृषि उपज वस्तुबीचको प्रतिस्पर्धा हुनेछ । तीमध्येबाट उत्कृष्ट छनोट भएको कृषकलाई पुरस्कार सहित सम्मान गरिने जनाइएको छ ।
यसैगरी, कार्यक्रममा स्थानीय लोक साँस्कृतिक प्रदर्शनी समेत गरिएको छ । देऊडा, पञ्चेबाजा, धमाइलो, तरबार नाँच, मारुनी नाँच लगायतको प्रस्तुती प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री विसीले विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सबैको भूमिका आवश्यक रहने बताए । शिक्षक, अभिभावक र राज्यको लगानीमा साझेदार हुन सकेमात्र गुणस्तरीय शैक्षिक उत्पादन हुने उनको भनाई थियो । साथै, उनले खेलकुदका माध्यमबाट मुलुकको पहिचान बनाउनका निम्ति विद्यार्थीलाई आग्रह गरे ।
यसैगरी, मन्त्री विसीले प्रदर्शनीमा राखिएका कृषि वस्तुहरुप्रति उत्साह जनाउँदै कृषिजन्य वस्तु उत्पादनमा वृद्धि गर्न समेत आग्रह गरे ।
कार्यक्रममा महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवम् उपाध्यक्ष मन्जुकुमारी शर्मा पाण्डेले स्थानीय स्तरमा लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्डजस्ता कार्यक्रमहरु आयोजना गरिएको बताईन् । उनले लोप हुन लागेका कलासंस्कृतिको जर्गेना गर्नेतर्फ आफुहरु सजग भएको बताईन् ।
कृषिकर्ममा जोडिनका लागि पालिकाले बाँझो जग्गाको सदुपयोग हुनेगरी आवश्यक नीति ल्याउनुका साथै कृषक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, वडाअध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख अनिलकुमार पाण्डेले गरेका थिए ।