सुर्खेत । कर्णाली प्रदेशका तीन स्थानीय तहले सडक बत्तीको महसुल नतिरेको पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सल्यानको शारदा नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सडक बत्तीको विद्युत महसुल नतिरेको पाइएको हो ।
विद्युत प्राधिकरणले आइतबार सूचना जारी गर्दै ४५ दिनभित्र बक्यौता महसुल बुझाउन भनेको छ । ‘तोकिएको समयसीमाभित्र वक्यौता महसुल नबुझाएमा विद्युत सङ्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने’ जनाएको छ ।
प्राधिकरणका अनुसार वीरेन्द्रनगरकाे चार करोड ७३ हजार ३४६ रुपैँया, शारदाको १६ हजार ६९ रुपैँया र चौरजहारीको ७१ हजार ६८३ रुपैँया बक्यौता छ ।
‘वीरेन्द्रनगरको बक्यौता रकम यति धेरै किन?’ भन्ने प्रश्नमा नगरप्रमुख मोहनमाया ढकालले हिसाब मिलान गर्न बाँकी रहेको हुनुपर्ने बताईन् । ‘नगरपालिकाको सडक बत्ती भएकोले नगर र प्राधिकरणबीच हिसाब मिलान गर्न बाँकी भएकोले बक्यौता देखिएको हुनुपर्छ ।’ उनले भनिन्, ‘मैले पनि नबुझी यही हो भन्न सकिनँ ।’