काठमाडाैं । चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ९१ हजार ७९६ किलोलिटर (पेट्रोल, डिजेल, मटितेल, ग्यास हवाई इन्धन) आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत इन्धन आयात कमी भएको हो ।
अघिल्लो वर्षको साउन महिनामा २१ अर्ब ९८ करोड रुपियाँको इन्धन आयात भएको थियो । बजारमा खपत कम हुँदा आयातमा कमी आएको हो । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण विकास निर्माणका काम कम हुँदा गत वर्षदेखि नै इन्धनको खपतमा कमी हुँदै आएको थियो ।विभागका अनुसार साउन महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएको छ । एक अर्ब १७ करोड ९४ लाख १० हजार रुपियाँको १२ हजार ५४८ किलोलिटर
हवाई इन्धन आयात भएको तथ्याङ्क छ । यस्तै तीन अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको ४५ हजार ६३१ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थको आयातबाट सात अर्ब २८ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।
निगमका अनुसार आव २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।