काठमाडाैं । चार देशबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो। यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।
बधुबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ८९ रन जोड्यो।
नेपालका लागि विन्दू रावलले २० रन र इन्दू बर्माले २३ रन बनाए। काजल श्रेष्ठले नटआउट १९ रनको योगदान दिइन्।
बलिङमा कुवेतकी मरियमना हैदरले ४ विकेट लिइन्।
९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो।
कुवेतकी जीफी जिलानीले ११ रन र खाजिदा खलिलले १० रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए।
बलिङमा नेपालकी इन्दू बर्माले ३ विकेट लिइन् भने खुसी डंगोलले २ विकेट हात पारिन्।
सिरिजमा अब नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ।
त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।
मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।