सुर्खेत । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले बन्द गरेका केही सेवाहरु सुचारु गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगर्दा गत साउन १५ गतेदेखि सेवा बन्द गरिएको थियो ।
चालु आर्थिक वर्षमा खर्च हुने कार्यक्रमलाई ‘एलआईएमबीएस’मा समावेश गर्न परिपत्र आएपछि सेवा सुचारु गरिएको प्रयोगशालाका प्रमुख डाक्टर विकास श्रेष्ठले जानकारी दिए । तर, मंसिर मसान्तसम्म मात्रै कार्यक्रम लागू हुने सङ्केत देखिएको उनको बुझाई छ ।
उनका अनुसार अहिले कम खर्च हुने किसिमका सेवाहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये पोष्टमार्टम, गोबर परीक्षण, दुध परीक्षण लगायतका कामहरु भईरहेका छन् भने अन्य फिल्डमै पुग्ने गर्नुपर्ने कामहरु स्थगनमै रहेको डाक्टर श्रेष्ठले बताए ।
याे पनिः पशुमा महामारी फैलिएकै बेला बन्द भए प्रयोगशालाका सेवा
२०४९ सालदेखि सञ्चालनमा रहेको यो प्रयोगशालाले कर्णालीका १० जिल्लासहित लुम्बनी प्रदेशका ६ जिल्ला गरी १६ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । लुम्बिनीको बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान र रुकुम पुर्व यसको कार्यक्षेत्र रहेको छ ।
पशुपन्छीमा लाग्ने रोगको निदान, नियमित प्रयोगशाला सेवा, महामारीका रुपमा फैलिएका रोगहरुको नियन्त्रणका लागि आवश्यक कार्य, खोप वितरण तथा व्यवस्थापन गर्ने मुख्य उद्देश्य हुन् ।