शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआइजीहरूको सरूवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
पदस्थापन भएको साढे ४ महिनामै सरकारले उनीहरूको सरूवा गरेको हो।
सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका श्यामलाल ज्ञवालीलाई हटाएको छ। उनलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको थियो।
पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाको जाहेरी परेको थियो। त्यसपछि नेपाली कांग्रेसले उपत्यकाबाट एआइजी ज्ञवालीसहित एसएसपी मनोज केसी समेतलाई हटाउन सरकारलाई दबाब दिएको थियो।
अहिले उनको ठाउँमा उपत्यका प्रहरी कार्यालयको प्रमुखमा दीपक थापाको सरूवा गरिएको छ। यसअघि थापा प्रशासन विभागमा थिए।
प्रशासन विभागमा मिरा चौधरीको सरूवा भएको हो। उनी यसअघि कार्य विभागमा थिइन्।
यस्तै, मानव स्रोत विभागमा रहेका सन्दीप भण्डारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गरेको छ। उनको ठाउँमा प्रतिष्ठानमा रहेका टेकबहादुर राईलाई मानव स्रोत विभागमा पठाइएको छ।
यसरी साढे ४ महिनामै सरूवा गर्न लागेको भन्दै एआइजी राई पनि असन्तुष्ट थिए। उनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई फोन गरेर सरूवा गर्ने भए कारण दिनुपर्ने बताएका थिए। एक वर्ष काम गर्न नपाउँदै सरूवा गर्न नहुने उनको जिकिर थियो।
सरकारले उनीहरूको गत चैत १४ गते पदस्थापन गरेको थियो। तर ५ महिना नहुँदै सरकारले उनीहरूको सरूवा गरेको हो।