चितवन । पूर्वपश्चिम महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका-९ गोन्द्राङ नजिकै टिकौली जंगलमा कलेज बस, शव बोकेको जिप, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
बुधबार मध्याह्न १२ बजेतिर गोन्द्रङदेखि लगभग ५ सय मिटर पूर्व टिकौली जंगलमा नारायणगढबाट रत्ननगर तर्फ जाँदै गरेको गैंडाकोट अक्सफोर्ड कलेजको विद्यार्थी बोक्ने ना १ क ६१३१ नम्बरको बसले शव बोकेर रत्ननगरबाट देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य चारवटा मोटरसाइकल र दुईवटा स्कुटर पनि आपसमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
घाइतेमध्ये १२ जनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चितवन खैरहनी नगरपालिका-४ का ६०/६५ वर्षीय कृष्णबहादुर तमाङ, खैरहनी-१ का ८२ वर्षीय जीतबहादुर तमाङ, रत्ननगर नगरपालिका-१४ का ५५ वर्षीय कुसुमबहादुर राना मगर र सोही ठाउँका ५५ वर्षीय डोलबहादुर कार्कीको अवस्था गम्भीर रहेको डीएसपी पण्डितले बताए ।
त्यसैगरी रत्ननगर-१४ कै ३८ वर्षीय सुरेश श्रेष्ठ र रत्ननगर-९ का ३५ वर्षीय किशोर तमाङ तथा मकवानपुर हेटौंडा-१४ का ६५ वर्षीय मोहन तमाङको अवस्था पनि गम्भीर रहेको डीएसपी पण्डितको भनाइ छ ।
अन्य घाइतेमध्ये सात जनको पुरानो मेडिकल कलेज (सीएमएस) र एक जनाको चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कलेजको बसका चालक नवलपरासी गैंडाकोट-९ का २६ वर्षीय आशीष परियारलाई नियन्णत्रणमा लिएको छ ।