काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध पारेको हो । एमालेकै विरोधका कारण प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध हुँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संसद खुलाउने विषयमा पहल लिन आग्रह गरे ।
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।
राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।