सुर्खेत । देशभरका पशुपन्छीमा विभिन्न किसिमको महामारी रोग फैलिएको छ । त्यसमा पनि लम्पी स्किन भाइरसका कारण गाईभैंसीमा महामारीले ठूलो विपत्ती निम्ताएको छ । २०७७ सालदेखि सुरु भएको यो महामारी रोगका कारण २०८० असार १३ गतेसम्म दुई लाख ४७ हजार ४९७ पशु सक्रिय सङ्क्रमित छन् । त्यस्तै, २५ हजार ४०८ पशु मरिसकेका छन् । यसबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पशुहरु बढी प्रभावित भएका छन् ।
समयमा रोगको परीक्षण र उपचार नपाएको कारण ती धेरैजसो पशुको मृत्यु हुने गरेको छ । कर्णालीमा मात्रै नौं हजार ६२० पशुको मृत्यु भएको छ । सबैभन्दा बढी हुम्लामा एक हजार ९८३ पशुको मृत्यु भयो ।
पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तदारुकताका साथ सक्रिय हुनुपर्नेमा यतिबेला सेवा प्रवाह बन्द गरेका छन् । साउन १५ गतेदेखि प्रयोगशाला कार्यालयहरुले सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका हुन् ।
आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट तथा कार्यक्रममा प्रयोगशाला सञ्चालनका लागि बजेट विनियोजन नहुँदा बन्द गरिएको कार्यालयले जनाएका छन् ।
संघीय सरकारको कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको पशुसेवा विभाग अन्र्तगत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ । त्यस अन्र्तगत विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छन् । ती प्रयोगशाला कार्यालयले साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका हुन् ।
सरोकारवाला निकायसँग कुनैपनि किसिमको छलफल नभई अर्थमन्त्री प्रकाशसरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यका क्रममा प्रयोगशालाको विषयलाई नसमेटिएको कार्यालयहरुको बुझाई छ । साथै केहिदिन अगाडी अर्थ मन्त्रालयले समेत प्रयोगशालामा कुनैपनि किसिमको आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरेको थियो ।
पशुपन्छीमा लाग्ने रोगको निदान, नियमित प्रयोगशाला सेवा, महामारीका रुपमा फैलिएका रोगहरुको नियन्त्रणका लागि आवश्यक कार्य, खोप वितरण तथा व्यवस्थापन गर्ने मुख्य उद्देश्य सहित कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सञ्चालनमा आएको थियो । २०४९ सालदेखि सञ्चालनमा रहेको यो प्रयोगशालाले कर्णालीका १० जिल्लासहित लुम्बनी प्रदेशका ६ जिल्ला गरी १६ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । लुम्बिनीको बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान र रुकुम पुर्व यसको कार्यक्षेत्र रहेको प्रयोगशालाका प्रमुख डाक्टर विकास श्रेष्ठले जानकारी दिए ।
प्रयोगशाला सञ्चालनका लागि गत आर्थिक वर्ष २०७९–८० मा एक करोड ८० लाख चालुतर्फ र ७१ लाख ४५ हजार पुँजीगत तर्फ गरी दुई करोड ५२ लाख रुपिँया विनियोजन थियो । त्यसमध्ये ४३ लाख २६ हजार रुपिँया रोक्का भएको थियो । चालु आर्थिक वर्ष २०८०–८१ का लागि दुई करोड ३० लाख रुपिँया बजेट प्रस्ताव गरिएको थियो । अब चालुआर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेट विनियोजन नहुँदा कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको डा. श्रेष्ठले बताए ।
‘नमूना सङ्कलन भई आउने वित्तिकै परीक्षण हुने गरेको थियो’ डा. श्रेष्ठले भने, ‘अहिले हुन सकेको छैन । बजेट नहुँदा परीक्षण गर्दा प्रयोग हुने मास्क, ग्लब्स लगायतका सामान्य उपकरण पनि खरिद गर्ने अवस्था छैन । त्यसैले सेवा प्रवाह बन्द गर्न बाध्य भएका हौं ।’
सेवा प्रवाह बन्द भएसँगै प्रयोगशालामा मौज्दात खोरेत खोप एक लाख २० हजार, पिपिआर खोप दुई लाख ५० हजार र लम्पी स्किन खोप तीन हजार खोप खेर जाने अवस्थामा छ । ती खोपको वितरण र व्यवस्थापनका लागि समेत आवश्यक बजेट नहुँदा खेर जाने अवस्था आएको हो । ‘खोप भण्डारण भएको ठाउँमा चाहिने विद्युत महसुल समेत तिर्न सक्ने अवस्था भएन ।’ डा. श्रेष्ठले भने ।
‘केही दिन अगाडी दाङमा भ्यागुते रोगको लक्षण देखिएको जानकारी प्राप्त भएको थियो ।’ उनले भने, ‘त्यहाँबाट नमूना सङ्कलन गरी परीक्षणका लागि यहाँ ल्याउन सकिएन ।’ यस्तै, हप्तादिन अगाडीदेखि डोल्पाको मुड्केचुला गाउँपालिकामा घोडामा लाग्ने ‘ग्लान्डर’ रोगको लक्षण देखिएका छन् । उक्त रोग मानिसमा पनि सङ्क्रमण हुने खतरा हुन्छ । तर, उक्त रोगको परीक्षण र रोग निदानका लागि उपचार हुन नसकेको उनले जानकारी दिए ।
पशुपन्छी रोग अन्वेषणका लागि प्रयोगशालाहरुलाई सञ्चालनमा ल्याउनुपर्ने आवश्यक देखिन्छ । ती निकायलाई यथाशिघ्र सञ्चालनमा ल्याई पशु सुरक्षाका लागि सरकारको ध्यानकेन्द्रीत हुनुपर्ने जानकारहरुको भनाई छ ।