सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्दैछ । सहकारीले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानहरुबाट शेयर सदस्यहरु मार्फत अहिले सुझाव सङ्कलन गोष्ठी आयोजना गरेको छ । यसअघि सुर्खेतको पश्चिम र पुर्वी क्षेत्रमा आयोजना गरिसकेको थियो भने सोमबार वीरेन्द्रनगरमा सुझाव सङ्कलन गोष्ठी आयोजना गरिएको थियो ।
आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने मुख्य उद्देश्य सहित २०५८ सालदेखि सहकारी सञ्चालनमा छ । यसले कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेत जिल्लालाई कार्यक्षेत्र बनाएको छ । अहिलेसम्म आठ वटा सहकारीहरु वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् ।
संस्था सञ्चालनका लागि कार्यसमितिद्वारा वार्षिक नीति तथा कार्यक्रम ल्याउने वैधानिक व्यवस्था छ । सोही बमोजिम संस्थाले यस अघिल्ला वर्षहरुमा सञ्चालक समितिहरुबीच छलफल गरी तयार भएको नीति तथा कार्यक्रमलाई सभाबाट अनुमोदन गर्ने प्रचलन थियो । तर, यसपटक भने संस्थाका प्रतिनिधीमूलक शेयर सदस्यहरुबीचबाट सुझाव सङ्कलन गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न लागिएको सञ्चालक समितिका अध्यक्ष बमबहादुर विसीले बताए । संस्थामा सबै शेयर सदस्यको अपनत्व हुनेगरी नीति तथा कार्यक्रममाथी सुझाव सङ्कलन गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए ।
आगामी साउन २१ गतेभित्र संस्थाकाे सञ्चालक समितिले वार्षिक नीति तथा कार्यक्रम पारित गरिसक्ने जनाइएकाे छ।
हाल वीरेन्द्रनगर सहकारीले सुर्खेत जिल्लाभर १३ वटा सेवा केन्द्र र १ मुख्य कार्यालय गरी १४ स्थानबाट सेवा प्रवाह दिईरहेको छ ।
संस्थाको सदस्य विस्तार योजना, शेयर पुँजी वृद्धि योजना, बचत निक्षेप वृद्धि योजना, ऋण लगानी योजना, संस्थागत पुँजी वृद्धि योजना, नवीनतम् प्रविधि विकास योजना, युवा सदस्यहरुको लागि वित्तीय शिक्षा कार्यक्रम, विपन्न सदस्य उत्थान कार्यक्रम लगायतका योजना समावेश गरि वार्षिक नीति तथा कार्यक्रम तय गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले बताए ।
ती योजना कार्यान्वयनका लागि वीरेन्द्रनगर साकोसको ५ वर्षे रणनीति, सभाको निर्णय र निर्देशन, विद्यमान ऐन कानून, व्यवस्थापन पक्षको कार्यकुशलता र आत्मविश्वास, सरकारको बजेट तथा कार्यक्रम, संस्थाको विनियम लगायतका विषयवस्तुलाई योजना तथा बजेटका आधारहरु मानिएको छ ।
यस्ता छन् मुख्य योजना
संस्थाले २१ हजार १९७ मध्ये पाँच हजार पाँच सय नयाँ सदस्य थप गरी आर्थिक वर्ष २०८०–८१ मा संस्थाको शेयर सदस्य सङ्ख्या २६ हजार ६९७ पु¥याउने लक्ष्य लिएको छ ।
हाल संस्थाको शेयर पुँजी १४ करोड ३२ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा अवितरित खुद नाफा दुई करोड आठ लाख रहेको छ भने संस्थाको नीजि पुँजी नौं करोड पुगेको छ । यस्तै, सदस्य बचतमा ७२ करोड र तरलता प्रयोजनका लागि संस्थाको २० करोड रुपैयाँ मौज्दात रहेको छ । अब आर्थिक वर्ष २०८०–८१ मा ‘मेरो संस्था, मेरो स्वामित्व, महसुस गरौं पूर्ण अपनत्व’को भावना सहित शेयर पुँजी वृद्धि गर्ने योजना ल्याइएको अधिकृत थापाले बताए । उनका अनुसार चार करोड ६८ लाख थप गरी संस्थाको कुल शेयर पुँजी १९ करोड रुपैँया पु¥याउने रणनीति तय गरिएको छ ।
‘समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि बचत’ भन्ने मूल मत्रसहित बचत वृद्धि गर्ने योजना रहेको छ । जसअनुसार १८ करोड रुपैँया बचत थप गरी संस्थाको कूल बचत/निक्षपलाई ९० करोड पु¥याउनुका साथै थप १७ करोड रुपैँया लगानी गरी आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब १२ करोड रुपैँया ऋण लगानी गरिने जनाइएको छ ।
‘दीगो विकासका लागि अधिकतम् संस्थागत पूँजी’ भन्ने आकांक्षा सहित सात करोड रुपैयाँ पुँजी पु¥याउने लक्ष्य लिइएको छ । त्यसका लागि संस्थागत पुँजीमा रहेको रकमको परिचालन सहुलियतपूर्ण कार्यक्रमहरुमा परिचालन गरी हुँदा खाने वर्गका सदस्यहरुका लागि हुने खाने वर्गमा ल्याउने रणनीतिलाई आत्मसाथ गरिने रणनीति अपनाइएको अधिकृत थापाको भनाई छ ।