सुर्खेत। हुम्ला जिल्लाभर लागू हुने गरी इन्धनको मूल्य निर्धारण गरिएको छ । व्यावसायीहरुले मनलाग्दी मूल्य लिने गरेपछि एकरुपता ल्याउन यसो गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन र ग्यासको मूल्य निर्माण भएको बताए । पहिलो पटक सर्वपक्षीय बैठक बसेर मूल्य निर्धारण कार्य गरिएको जानकारी दिए ।
निर्धारित मूल्य अनुसार बिहीबारबाट डिजेल प्रति लिटर दुई सय ७४ रुपियाँ रहेको छ ।
सुर्खेतमा खरिद गरेको डिजेलको प्रतिलिटर मूल्य एक सय ४९ रुपियाँ परेकोमा त्यताबाट सलीसल्लासम्म ढुवानी प्रति लिटर पन्ध्र रुपियाँ, तीन रुपियाँ तुईन तार्ने खर्च, साठी रुपियाँ सलीसल्लाबाट सिमकोटसम्म खच्चडको ढुवानी भाडा, २४ रुपियाँ ग्यालेनमा ल्याउन इन्धन नोक्सान हुने खर्च, तीन रुपियाँ अन्य खर्च र बीस रुपियाँ प्रति लिटर फाइदासमेत जोडिएको छ ।
त्यसैगरी, पेट्रोल प्रति लिटर तीन सय पाँच रुपियाँ निर्धारण गरिएको छ । ग्यास सिलिण्डरको प्रति सिलिण्डर ग्याँस भरेको असारदेखि असोजसम्म चार हजार छ सय रुपियाँ र बाँकी आठ महिनाको लागि चार हजार छ सय रुपियाँ निर्माण गरिएको छ ।
निर्धारित मूल्यभन्दा माथि कुनै पनि व्यापारी इन्धन तथा ग्याँस विक्री गरेको पाइए कानुनको दायरामा ल्याएर कारबाही गरिने प्रजिअ पौडेलले बताए ।
साथै, जिल्लामा दर्ता बिनै इन्धन तथा ग्याँस विक्री गर्ने व्यावसायीहरुलाई दर्ता प्रक्रियामा समावेश हुन समेत भनिएको छ । त्यसका लागि तीन महिनाको समयसीमा दिइएको छ ।