काठमाडौँ । पक्कै पनि हिँडेने काम खुट्टाले गर्छ । तर, कीर्तिमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाउन मान्छे अचम्म-अचम्मका काम गर्छन् । यस्तै एउटा अचम्मको काम गरेर एक नेपाली युवाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराएका छन् ।
२९ वर्षीय नेपाली युवा हरिचन्द्र गिरीले खुट्टा माथि र टाउको तल पारेर दुबै हातले सिँढी ओर्लिएर गिनिज बुकमा आफ्नो नाम लेखाएका हुन् । नेपाल आर्मीमा कम गर्ने गिरीले हातले हिँडेर सबैभन्दा कम समयमा ७५ वटा सिँढी ओलिएका थिए ।
गिनिज वर्ल्ड रेकर्डका अनुसार, गिरीले हातले हिँडेर सिँढीको ७५ वटा खुड्किला ओर्लन केवल २५.०३ सेकेन्ड समय खर्चिएका थिए । हातले हिँडेर उनले औसतमा प्रत्येक सेकेन्ड सिँढीको तीनवटा खुड्किलो पार गरेका थिए । यसअघि उक्त कीर्तिमान अमेरिकाका मार्क केन्नीको नाममा रहेको पनि गिनिज वल्र्ड रेकर्डले जनाएको छ । मार्क केन्नीले सन् २०१४ मा हातले हिँडेर सिँढीको ७५ वटा खुड्किलो झर्न ३०.८ सेकेन्ड समय खर्चिएका थिए ।
गिरीले गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधिको रोहवरमा काठमाडौं उपत्यकाको जाम्चेन विजया स्तुपामा उक्त कीर्तिमान बनाएको समाचारमा जनाइएको छ । आगामी दिनमा पनि गिरीको कीर्तिमान भंग गर्न निकै कठिन रहेको समाचारमा जनाइएको छ । हातले हिँडेर सिँढी ओर्लनु निकै कठिन कार्य भएको गिनिज वल्र्ड रेकर्डले पनि जनाएको छ । तर, गिरीले भने सहजै आफ्नो लक्ष्य पूरा गरेका थिए । गिरीले आफ्नो उमेर आठ वर्षको हुँदादेखि नै हातले हिँड्ने अभ्यास गर्दै आएको बताइएको छ ।