दैलेख । दैलेखको नारायण नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा भने पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
नगरप्रमुख लोमन शर्माले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकालाई हरियाली, वातावरणमैत्री, खेलकुदमैत्री पालिकाको रुपमा विकास गरिने बताइएको छ ।
एक वडा–एक पार्क, एक बिद्यालय–एक खेलमैदान नीति लिइएको छ ।
नगर चक्रपथ, कोटिलामा मानव निर्मित ताल निर्माण, राईली–त्रिपानी पर्यटन प्रवद्र्धन, बेलासपुर दरबार, माल्ली रंगशाला निर्माण, पञ्चदेवल संरक्षण संवद्र्धन लगायतका नगरस्तरीय गौरव आयोजनाहरु समेटिएको नगरप्रमुख शर्माले बताए ।
नगरपालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताइएको छ ।
विपन्न, जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने, प्रत्येक वडामा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध, दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिने नीति तथा कार्यक्रम रहेको छ ।
यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँइएकाे छ ।
साथै, नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ वार्षिक बजेट तथा कार्यक्रम आगामी असार १० गते सार्वजनिक हुने बताइएको छ ।