काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताको हित सोचेर काम गर्न आग्रह गरे ।
उनले भने, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस् ।”
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताइन् । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियशन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदी लगायतले बोलेका थिए ।