सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन् । शुक्रबार बसेको संसद बैठकबाट शर्मालाई २९ सांसदले विश्वासको मत दिएका हुन् ।
शर्मालाई उनको दल नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत दिएएका हुन् ।
यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि प्रमुख प्रतिपक्षी बनेको छ। राप्रपा पनि प्रतिपक्षीका रूपमा रहेको छ ।
२०७९ चैत २७ गते तत्कालीन सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई सभामुखबाहेक एमालेका ९, माओवादीका १३, राप्रपाका १, एकीकृत समाजवादीका १ जना र स्वतन्त्र १ जना सांसद गरी २५ जनाले विश्वासको मत दिएका थिए ।
तत्कालीन समयमा सरकारलाई समर्थन गरेको राप्रपाले फागुन १८ गते समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला राप्रपाका एकजना सांसद र सभामुखबाहेक प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका ३८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको दल माओवादीका १३ जना सांसद छन्। यस्तै नेपाली कांग्रेसका १४, एमालेका १३, राप्रपाका १, एकीकृत समाजवादीका १ जना सांसद छन्। प्रदेश सभामा एक जना स्वतन्त्र सांसद छन् ।
स्वतन्त्र एक जना सांसदले सुरूदेखि नै सरकारलाई समर्थन गर्दै आएका छन् ।
कर्णाली प्रदेश सभामा एमालेबाट सभामुख छन् भने माओवादीबाट उपसभामुख छन् ।