सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सोमबार (आज) मन्त्री सिफारिस गर्ने तयारी भएको संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका थिए । तर, आजको छलफलबाट मन्त्री सिफारिस गर्ने विषयले प्रवेश पाएन । संसदीय दलको बैठक बसेपनि त्यसबारे निर्णय नभएको एक नेताले जानकारी दिए ।
आज बसेको दलको बैठकले कांग्रेस सरकारमा सहभागी हुने विषयमा सैद्धान्तिक निर्णयका लागि पार्टीको प्रदेश कार्यसम्पादन समितिमा पेश गर्ने निर्णय भएको ती नेताले जनाए ।
कांग्रेसको विधान अनुसार सरकारमा सहभागी हुने वा फिर्ता लिने सम्बन्धी सैद्धान्तिक निर्णय गर्ने अधिकार प्रदेश कार्यसम्पादन समितिलाई हुने व्यवस्था छ ।
बाहिर छलफल भएपनि अहिलेसम्म कांग्रेस प्रदेश सरकारमा जाने विषयले सैद्धान्तिक निर्णय पाएको छैन । त्यसका लागि कार्यसम्पादन समितिको बैठक भोली (मंंगलबार) ११ बजेका लागि बोलाईएको छ ।
बैठकपछि मन्त्री कसलाई सिफारिस गर्ने भन्नेबारे टुंगो लाग्ने कांग्रेस नेताहरुको भनाई छ।
मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वकाे सरकारमा कांग्रेसका तर्फबाट तीन मन्त्रीसहितकाे सहभागिता हुने माओवादी केन्द्रसँगकाे सहमति भैसकेकाे छ ।