सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ऋणात्मक अर्थतन्त्रलाई सुधार्न चुनौती रहेको बताएका छन् । अर्थतन्त्रलाई सुधार गर्न सरकारका लागि चुनौती र अवसर दुबै भएको बताए ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले सरकारले ल्याएका न्यूनतम् साझा कार्यक्रमको जगमा रहेर नीति तथा कार्यक्रम तय गर्ने र त्यसअनुसार बजेट निर्माण गरि मुलुकलाई नयाँ दिशामा लिने बताए ।
जनता निराशा हुने वातावरण बनाउन नदिन सरकारले बनाउने योजनाबाट भरोशामा बदल्ने प्रयत्न गरिने उनले बताए ।
बाँकी रहेका मन्त्रालयहरुमा चाँडै मन्त्री नियुक्त हुने जानकारी दिए ।
सत्ता गठबन्धन दलहरुबीच केहि दिनभित्रै छलफल गरि सात वटै प्रदेशका सरकार फेरबदलका विषयमा केन्द्रबाटै एकमुष्ट निर्णय हुने बताए ।
साथै, आगामी बजेटमा कर्णाली र सुदूर पश्चिम प्रदेशलाई केन्द्रमा राखेर योजना निर्माण गरिने बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहको बजेट जोडेर यहाँको प्रचुर सम्भावनाको आधारलाई पूर्ण उपयोग गर्दै भैरहेको विकास निर्माणको गतिलाई तिव्रता दिईने बताए ।
यसैगरि, कर्णाली कोरिडोरको विषयमा सरकार गम्भीर भएको जनाउँदै दातृ संस्थाको खोजीमा बहुवर्षीय ठेक्का प्रणालीमार्फत अब आउने बजेटमा समेटिने जानकारी दिए ।