सुर्खेत । दाङ स्थायी घर भएकी राधाकुमारी थापा अहिले जिल्ला कारागार हुम्लामा छिन् । सरकारी सेवा प्रवेश गरेको महिना दिन नपुग्दै उनलाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि थुनामा राखेको हो । प्रेमीको हत्या आरोपमा उनीमाथी अनुसन्धान भैरहेको छ ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट थापा हुम्लाको चंखेली गाउँपालिकामा पाचौं तह कम्प्युटर अपरेटर पदमा गत कार्तिक १५ गते सिफारिस भएकी थिईन् । उनी गाउँपालिकामा कार्तिक अन्तिम सातादेखि सेवामा जोडिएको चंखेलीका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जनाए ।
राधालाई मंसिर दोस्रो हप्ता कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । मान्छे बेपत्ता पारेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । बेपत्ता पारिएका भनिएका व्यक्ति रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षी संसार घर्ती मगर थिए । मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ । मृतक संसार आरोपीत राधाका प्रेमी भएको बुझिएको छ ।
राधासहित चंखेलीका स्थानीय तीन जनालाई प्रहरीले कारागारमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए । प्रहरीले थुनामा राखेका उनिहरूकाे नाम सार्वजनिक गर्न चाहेकाे छैन। पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिकाे नाम गाेप्य राख्नुपर्ने त्यस्ताे केही हुदैन तर, प्रहरीले गाेप्य राखेकाे छ ।
प्रहरीका अनुसार मृतक संसारको बिहिबार दिउँस पोष्टमार्टम गरी आफन्तले दाहसंस्कार गरेका छन् । मानिस बेपत्ताको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनिहरुमाथी बिहिबारदेखि हत्या अभियोगमा अनुसन्धान बढेको छ ।
मंसिर ६ गते संसार प्रेमिकालाई भेट्न रूकुमबाट चंखेलीतर्फ हिँडेका थिए । ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे । चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए ।
संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए । ‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले भने, ‘उनले प्रहरीलाई खबर गरिदिनुप¥यो भन्दै थिए, तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए ।’
खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए । विगत दुई वर्षयता राधा रूकुम पूर्वमा बस्थिन् । उनी आफूहरूको संसार र महेशसँगको साझेदारीमा स्थापना गरेको कम्प्युटर इन्स्टिच्युटमा नै पढाउँथिन् । त्यसैबीचमा राधा र संसारबीच प्रेम सम्बन्ध सुरू भएको हुनसक्ने स्थानीय राज सेनले बताए । हुम्ला पदस्थापना भएपछि उनीहरूबीच केही विवाद भएर हो वा भेट्नमात्र गएको हो भन्ने नखुलेको उनले बताए ।
मृतकका आफन्तले भने युवतीले स्थानीयलाई लगाएर प्रेमीलाई बेपत्ता पारेको आरोप लगाएका छन् ।
मृतक संसार घरको जेठो छोरा हुन् । उनीपछि दुई जना भाइ र दुई जना बहिनीहरू छन् । बाबा–आमा ६० वर्ष उमेर नाघेका छन् ।
संसारले प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर स्नातक भर्ना गर्ने योजना बनाएका थिए ।