सुर्खेत । विश्वविद्यालयहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको केन्द्रीत रहेका छन् । त्यसअनुसार मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत्र ३ गते मतदान हुँदैछ । विश्वविद्यालयको शैक्षिक सुधारका कार्यक्रमलाई मुख्य एजेण्डा बनाएर विद्यार्थीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनका लागि गत फागुन २१ गते विद्यार्थीहरुले मनोनयन दर्ता गरिसकेका छन् । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय विभागमा पाँच राजनीतिक दल निकट विद्यार्थी संघ÷संगठन र स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गरिएको छ । विभागमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट (अनेरास्ववियु) र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारी परेको छ ।
त्यसमध्ये नेविसंघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनबीच चुनावी तालमेल भएको छ । तालमेल अनुसार नेविसंघलाई सभापति र कोषाध्यक्ष सहित दुई जना सदस्य र अखिल क्रान्तिकारीलाई सचिवसहित ६ जना सदस्य भागबण्डा गरिएको छ । गठबन्धनका तर्फबाट सभापति उम्मेदवार रोशन बस्नेतले नेतृत्व लिएका छन् ।
विद्यार्थी संगठनहरुबीच मुख्यतः नेकपा एमाले निकट अनेरास्ववियु र नेविसंघ नेतृत्व गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्ता छन् चुनावी एजेण्डा
शैक्षिक क्षेत्रलाई सुधार गर्ने कार्यक्रम अघि सार्ने विद्यार्थी संघ÷संगठनहरुका मुख्य एजेण्डा छन् । विश्वविद्यालयमा समायानुकुल पाठ्यक्रम परिमार्जन, पाठ्यक्रम अनुरुप शैक्षिक क्रियाकलाप सञ्चालन, विषयगत विशेषज्ञको छनोट तथा लाईब्रेरी व्यवस्थापन लगायतका विषय नै प्रमुख एजेण्डाको रुपमा प्रस्तुत छन् ।
गठबन्धनका तर्फबाट सभापति पदका साझा उम्मेदवार रोशन बस्नेतले शैक्षिक क्षेत्रको विकास नै मुख्य चुनावी एजेण्डा रहेको बताए । पाठ्यक्रम समयानकुल परिमार्जन नहुँदा व्यवहारिक शिक्षामा गुणस्तरीय बन्न नसकेको भन्दै यसको परिमार्जन गरी कार्यान्वयनमा ल्याउन पहल गर्नु चुनावी एजेण्डा रहेको बताए । विश्विद्यालयमा शैक्षिक क्यालेण्डर कार्यान्वयन, विद्यार्थीलाई सहुलियत शिक्षण शुल्क, छात्रावास व्यवस्थापन लगायतका कुराहरु चुनावी एजेण्डा रहेको बस्नेतले जानकारी दिए ।
नेकपा एमाले निकट अनेरास्ववियुले मप विश्वविद्यालयका मुख्यतः पाँच वटा विषयलाई मूल मृद्दा बनाएर चुनावी प्रतिस्पर्धामा भाग लिएको अध्यक्ष पदका उम्मेदवार प्रकाश रिजालले बताए । उनका अनुसार विश्वविद्यालयको शैक्षिक सुधार, विद्यार्थी कल्याण कोष सञ्चालन, खेलकुद तथा मनोरञ्जन, छाबास व्यवस्थापन र चमेनागृह सञ्चालनका विषयलाई मूल एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ । शैक्षिक क्षेत्र सुधारका लागि समयानुकुल पाठ्याक्रम परिमार्जन गरी तोकिए बमोजिम शैक्षिक क्रियाकलाप गर्न गराउने व्यवस्था मिलाउन पहल गरिने रिजालले बताए । त्यसका लागि शैक्षिक क्यालेण्डरको प्रयोग, विषय विशेषज्ञको नियुक्ति तथा ईलाइब्रेरीको व्यवस्थापन मुख्य एजेण्डा रहेको छ ।
यस्तै, एकीकृत समाजवादी निकट (अनेरास्ववियु)ले पनि आफ्ना चुनावी एजेण्डा विद्यार्थीमाझ राखेको छ । विश्वविद्यालयमा छात्राहरुका लागि निशुल्क सेनेटरी प्याडको व्यवस्थापन मूल एजेण्डा रहेको अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार मिलन विसीले बताए । त्यसका लागि ‘भेन्डिङ मेसिन’ खरिद गरि आवश्यकता अनुसार निःशुल्क रुपमा सेनेटरी प्याडको प्रयोग गर्न पाउने व्यवस्था मिलाउन कटिवद्ध हुने चुनावी एजेण्डा रहेको विसीको भनाई छ ।
उनले चुनावी एजेण्डाका रुपमा डिजिटल युनिभर्सिटीको अवधारणा अघि सारिएको बताए । त्यसका लागि विश्वविद्यालयमा भर्ना, परिक्षा फारम लगायतका फारामहरु अनलाई माध्यमबाटै भर्न सकिने तथा तिर्नपर्ने शुल्कहरु पनि अनलाई पद्दतीबाटै भुक्तान गर्न सकिने प्रणालीको विकास गरिने एजेण्डा रहेको विसीले बताए ।
विश्वविद्यालयमा अध्ययनरत २० प्रतिशत विद्यार्थीलार्य छात्रवृत्तिको व्यवस्था गर्ने, विश्वविद्यालयलाई खोज तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, ‘ई–लाईब्रेरी’ र ‘ओपन लाइब्रेरी’को व्यवस्था व्यवस्था र सुविधायुक्त विद्यार्थी छात्रावासको व्यवस्था गरिने चुनावी एजेण्डा रहेको विसीले जानकारी दिए ।
साथै, राजनीतिक दल निकट विद्यार्थी संगठनहरुसँगै प्रतिस्पर्धाका लागि महेन्द्रकुमार थापा पनि स्वतन्त्रतर्फबाट चुनावी मैदानमा छन् । दलीय विद्यार्थी संगठनहरुप्रति विद्यार्थीमाझ वितृष्णा जागेको दावी गर्दै उनले गैरराजनीतिक पाटोबाट स्ववियु नेतृत्व लिनुपर्ने अडानका साथ उम्मेदवारी दिएको बताए ।
‘विश्वविद्यालयभित्र स्वतन्त्र रुपमा रहेका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुनुपर्छ । भन्ने मान्यता अनुसार उम्मेदवारी दिइएको हो ।’ थापाले भने, ‘दलगत विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा प्रभाव पार्न थालेपछि यहाँका साझा समस्यालाई समाधान गर्न मैदानमा उत्रिएको छु ।’
मप विश्वविद्यालयको शैक्षिक हवका रुपमा विकास गर्नुपर्छ भन्ने मुख्य चुनावी अभियान रहेकोक थापाले बताए । उनले शैक्षिक सुधारका लागि पहल गर्ने मूल एजेण्डा रहेको बताए ।