दैलेख । सडकको नाला निर्माण गर्ने क्रममा कमसल सामाग्री प्रयोग भएको गुनासो आएको छ । नाला बनाउँदा प्रयोग गरिने सिमेन्ट, बालुवा, गिट्टी कमसल हालिएको स्थानीयले गुनासो गरेका हुन् ।
दैलेखको महाबु गाउँपालिका जोड्ने जलजले–बाँसि गिताचौर हुँदै काँसिकाँध सडकको जलजले खण्डमा गुणस्तरहीन काम भएको स्थानीयको गुनासो छ । कमसल सामाग्री प्रयोग गर्दा गुणस्तरहीन भएको उनिहरुको आरोप छ ।
दैलेखको पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनमा ल्याएको सो सडक निर्माणको जिम्मा मजदुर कन्स्ट्रक्सनले लिएको छ ।
सडक स्तरोन्नतीका लागि चालुआर्थिक वर्षमा दुई करोड बराबर लागत अनुमान गरिएको छ । जसअन्र्तगत जिरो प्वइन्टदेखि १७ किलोमिटर पलङ कंक्रिट नाला र ग्राबेलको काम हुने फिल्ड प्राविधिक राकेश यादवले बताए ।
उनका अनुसार एक बोरा सिमेन्ट बराबर दुई बोरा बालुवा र चार बोरा गिट्टी मिश्रण गर्नुपर्ने प्राविधिक स्टिमेट छ । त्यो भन्दा बढी बालुवा, गिट्टी र कम सिमेन्ट प्रयोग भए कमसल प्रयोग भएको बुझिन्छ । पलङ कंक्रिटमा ६० प्रतिशत कंक्रिट र ४० प्रतिशत ढुंगा मात्रै प्रयोग गर्न पाइन्छ ।
कमसल सामाग्री प्रयोग भएको प्राविधिक राकेश यादवको पनि स्वीकारोक्ती छ । ‘पहिला कमसल सामाग्री प्रयोग भयो भन्ने थियो । मैले नै हेरेर फेरी बनाउन लगाएको हो ।’ उनले भने, ‘अहिले भए फेरी हेरौंला ।’