सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य विनोद कुमार शाह समक्ष उनीहरू शपथ लिएका हुन्।
ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।
शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् ।
उनी सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने छन् ।
कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।