सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र एमाले नेता यामलाल कँडेलबीच बधाई साटासाट भएको छ। उनिहरु दुबैजनाले एकले अर्कालाई बधाई दिएका हुन् । प्रदेश सभाको ज्येष्ठ सदस्यलाई शपथ खुवाउने क्रममा उनीहरूबीच भेट भएको हो।
नेता कँडेलले शाहीलाई भने -‘दुई ओटै बधाई छ। ‘मुख्यमन्त्री शाहीले भने- ‘तपाईंलाई पनि झन् धेरै बधाई छ।’
सत्ता गठबन्धनको फूट तथा नयाँ गठबन्धनलाई मुख्यमन्त्री शाहीको नेता कँडेलमाथी बधाई इंकित थियो भने नेता कँडेलको बधाई शाही दलको नेता चयन भएको प्रति इंकित थियो।
साथै, मुख्यमन्त्री शाहीले कर्णालीका ज्येष्ठ सांसद विनोद कुमार शाहलाई बधाई दिए । कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हिमबहादुर शाहीले ज्येष्ठ सदस्यको रुपमा पहिलो सदन चलाएका थिए भने त्यसपश्चात सोही क्षेत्रबाटै निर्वाचित सांसद राजबहादुर शाही सभामुख थिए । यसपटक पनि संयोगवस सोही क्षेत्रबाट निर्वाचित सांसद विनोद कुमार शाहले पनि पहिलो सदन सञ्चालन गर्नेछन् ।
सांसद शाहीलाई मुख्यमन्त्री शाहीले भने,- ‘अघिल्लो कार्यकाल र अहिलेको संयोग मिलेको छ । कतै तपाई सभामुख मै रहने त होइन?’
शाहले नेकपा एमालेको संसदीय दलको नेताका लागि दावी गर्दै आएका छन् । दलको नेता चयन भएपछि शाहको मुख्यमन्त्री दावी समेत हुनेछ ।