सुर्खेत । निर्वाचनपछि अब दलहरु संसदीय दलको नेता चुन्ने प्रक्रियामा छन् । अरु दलहरुमा सर्वसहमतिबाट दलका नेता चुनिएपनि कांग्रेसमा भने निर्वाचन नै अन्तिम विकल्पका रुपमा देखिएको छ । संसदीय दलको नेता नै सरकारको नेतृत्व लिने दावेदारी भएकोले पनि यसलाई विशेष रुपमा लिइएको हो ।
नेपाली कांग्रेस संसदीय दलभित्रै दुई वटा धु्रवमा विभाजित भएको छ । मंगलबार संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । सभापति देउवाको साथमा नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि लगायतका नेताहरु छन् भने नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायतका नेताहरु महामन्त्री थापाको पक्षमा उभिएका छन् ।
सभापति देउवालाई संसदीय दल नेता बनाउन अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी उभिएका छन् । उमेरका दृष्टिले पाका पनि छन् । तर महामन्त्री थापालाई संसदीय दलमा साथ दिनेमा युवा नेताहरू छन् । युवापक्षधरले परिवर्तन र रुपान्तरणका लागि थापाको जित आवश्यक रहेको उनिहरुको तर्क छ ।
दलको नेता चुन्नका लागि बुधबार विहान ८ बजे मतदान हुँदैछ ।
यस्तै, कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश कार्यसम्पादन समिति तयारीमा जुटेको छ । केन्द्रीय समितिको निर्देशन अनुसार कार्यसम्पादन समितिका पदाधिकारी सदस्यहरुको बैठक बोलाइएको हो ।
पुस ७ गते (विहिबार) का लागि बैठक बोलाईएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरञ्जन केसीले जनाए । सो बैठकबाट संसदीय दलको नेता चयनका विषयमा छलफल भै निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागि सर्वसहमतिको सम्भावना न्युन देखिएको छ । प्रदेश तहमा समेत संसदीय दलको निर्वाचन हुने भएपछि सर्वसहमित नहुने देखिएको हो ।
कर्णालीमा बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही र राजीव विक्रम शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । शाही र शाह दुवैजना संस्थापन समूहका हुन् । तर, संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएपछि कर्णालीमा उक्त समूह दुई ध्रुवमा विभाजन हुने भएको छ ।
अहिले कर्णालीमा नेपाली कांग्रेसका १४ सिट रहेका छन् । तीमध्ये संस्थापन ईतर समूहको ३ सिट र बाँकी ११ सिट संस्थापन पक्षको रहेका छन् । संसदीय दलको नेता चुनिनका लागि कम्तिमा ८ मत लिनुपर्नेछ ।
मुख्यमन्त्री शाही आफु नै संसदीय दलको नेता बन्नुपर्नेमा अडिग छन् । उनी आफु नेता बन्नका लागि सहमति प्रयास गरिरहेका छन् । ‘दलको नेताका लागि अरु प्रतिस्पर्धामा आउछु भन्नु स्वभाविक हो’ मुख्यमन्त्री शाहीले भने, ‘तर, आफुले सुरुवात गरेका कामको पूर्णता दिन र संसदमा कांग्रेसको भूमिकालाई बलियो रुपमा प्रस्तुत गर्न दलको नेतामा पनि मलाई नै सहमति गर्नु हुन्छ भन्ने विश्वास छ ।’
यता, शाहले भने आफुलाई दलको नेता चुन्नका लागि सार्वजनिक अपिल समेत गरिरहेका छन् । लोकतान्त्रिक मूल्य मान्यता अनुसार दलको नेताका लागि पनि निर्वाचनबाटै प्रतिस्पर्धा गर्न खोजिएको शाहीको तर्क छ । ‘मेरो अरु कुनै स्वार्थका लागि प्रतिस्पर्धा होइन । दलको नेता चुन्ने प्रक्रियाका लागि प्रतिस्पर्धा गर्ने हो’ शाहले भने, ‘शिर्ष नेताहरुलाई सम्मान गर्दै । जनताले चाहेको परिवर्तन र रुपान्तरणकारी भावना बमोजिम परिवर्तनको पक्षमा उभिएको हो ।’
संविधानको स्थायीत्व र विकास गर्नुका साथै प्रदेश संरचनामा सु–शासन कायम राख्न योग्य भएकोले आफुलाई संसदीय दलको नेता चयन गर्नुपर्ने शाहको भनाई छ ।
यता, सहमति गरेर जानुपर्छ भन्ने मान्यतामा अन्य सदस्यहरु छन् । उनिहरु सकेसम्म प्रतिस्पर्धीबीचमै सहमति होस् भन्ने चाहान्छन् । संसदीय दलभित्र निर्वाचन भएमा कांग्रेसको संस्थापन समूह कमजोर हुने देखिन्छ । कर्णालीमा ईतर समूहको कमजोर संख्या रहेको बेला संस्थापन समूह नै दुई ध्रुवमा बाँडिए अन्तरद्वन्द्वका कारण कमजोर हुने देखिएको हो ।
‘कर्णालीको विकास र आर्थिक उन्नतीसहित जीवनस्तर माथी उकास्न कांग्रेसभित्रै विवादित नहोस् भन्ने मान्यता हाम्रो हो ।’ संस्थापनइतर समूहका नेता कृष्ण कुमार विसीले भने, ‘पार्टी अधिवेशनमा भएका प्रतिसोधभन्दा माथी उठेर सहमतिका लागि हामी अन्तिम प्रयास गर्नेछौं ।’ निर्वाचन हुने नै अवस्था आएमा कोही कसैको निरन्तरता वा फेरबदलभन्दा पनि समयानुकुल स्वविवेक प्रयोग गरी नेता चयन गरिने विसीको भनाई छ ।