सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा सुर्खेतमा आयोजना हुँदैछ । महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा पुस ८ र ९ गते साधारणसभा आयोजना गरिएको हो ।
पत्रकार महासंघको ईतिहासमै पहिलो पटक सुर्खेतमा साधारण सभा गर्न लागिएको हो । त्यसैले पनि सुर्खेतका लागि गौरवको विषय ठानिएको छ ।
यो साधारण सभाले महासंघको नीतिगत तथा वैधानिक अधिवेशनका रुपमा निर्णय लिनेछ । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए ।
महासचिवले पेश गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथी बृहत छलफल समेत हुनेछ ।
एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० बैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।
अधिवेशनका लागि आर्थिक दायित्व केन्द्रीय समितिले लिएको छ । महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए ।
संघीय सरकारले महासंघको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दैआएको छ । सोही बमोजिम यसपटक हुने अधिवेशनका लागि पनि बजेट व्यवस्थापन हुने अपेक्षा गरिएको छ भने कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि १५ लाख बजेट व्यवस्थापन गरिदिएको कोषाध्यक्ष सेजुवालले जनाए । स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले सुर्खेतस्थित स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको उनले बताए । सेजुवालका अनुसार सुर्खेतका स्थानीय तहले अहिलेसम्म आर्थिक सहयोगका लागि ठोस निर्णय भने गरिसकेको छैनन् ।
यस्तै, सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतसँग पनि आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ । कोषाध्यक्ष सेजुवालका अनुसार तीन तहका सरकार (संघ, अधिवेशन हुने प्रदेश सरकार, अधिवेशन हुने जिल्लाका स्थानीय तह, र अधिवेशन हुने स्थानीय तहको नीजि व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघसँग मात्रै आर्थिक सहयोग लिने प्रचलन बमोजिम सोही अनुसार सहयोग अपेक्षा गरिएको हो ।
अन्य दातृ निकायको सहयोगलाई महासंघले अस्वीकार गर्नेगरेको छ । ‘नीति निर्माण गर्ने थलोका रुपमा हुन लागेको अधिवेशनमा दातृ निकायको सहयोगले मूल मुद्दा ओझेलमा पर्नसक्ने अनुमान गरी सहयोग लिन अस्वीकार गरिएको हो’ कोषाध्यक्ष सेजुवालले भने ।
राष्ट्रिय परिषद् सदस्यहरुका लागि सुर्खेतस्थित २२ वटा होटलहरुको बन्दोवस्ती गरिएको महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले बताए ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार मन्त्री, अर्थमन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, मुख्यमन्त्री, सुर्खेतस्थित स्थानीय तहका प्रमुखहरु र विभिन्न संघ संगठनका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महरा लगायतको उपस्थिति हुने छ ।
साधारण सभाको उद्घाटन सत्र पुस ८ गते विहान ९ बजे हुने छ भने त्यसअघि विहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम राखिएको छ ।
सुर्खेतमा हुने यो अधिवेशनलाई भव्यताका साथ सफल पार्न कुनैपनि किसिमको कसर बाँकी नराखी अहोरात्र खटिने पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले बताए ।