काठमाडाैं। नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा सिधा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
यसका लागि नेपाल एयरलाइन्सले गत साता उडान अनुमति मागेको थियो। एयरलाइन्सकै मागअनुसार प्राधिकरणले ‘विन्टर सेड्युल’ स्वीकृत गरेको हो।
प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।