सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिन कमलेश डिसी र अंग्रेजी विषयका सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
डिन कार्यालयले २०७७ फागुन १९ गते विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदका लागि विज्ञापन आव्हान गरेको थियो। विज्ञापनमा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको थियो। विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट गर्नुका साथै लिखित परीक्षाको कपिमा अंक थपघट गरेको अख्तियारमा उजुरी परेको थियो।
अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले अनुत्तीर्ण हुने उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए। दासले अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका मागी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको प्रवक्ता भण्डारीले जनाए।
साथै, परीक्षा समितिका संयोजक सहायक डिन कमलेश डि.सी.ले अंग्रेजी विज्ञबाट पटक–पटक दिएको अङ्क केरमेट भएको अनदेखा गरी स्वीकार गरेको, विज्ञले उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अन्तर्वार्ताको अङ्क समेत नजोडी नतिजा प्रकाशन गर्न परिमाण फेदबदल गरे गराएको अख्तियारका प्रवक्ता भण्डारीले बताए।
उनिहरु दुवै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर सजाय गर्न मागदावी गरिएको छ।