काठमाडाैं। आचारणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता पुरुषोत्तम थापाका अनुसार संगठनले उनीहरू दुवैलाई विभागीय कारवाही सुरु गरेको छ।
गत कात्तिक ४ गते बाणगङ्गा-३ कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना भयो। सशस्त्र प्रहरीका हवल्दार रमेश चौधरी, रमेश चौधरी, जवान जनक चौधरी साइकल यात्री अमर तङनमीसहित चार जनाको मृत्यु भएको थियो।
आफ्नो संगठनका तीन जनासहित चार जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि सशस्त्र प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो।
कपिलवस्तु बाणगङगा-३, सिउटी स्थित तौलीहवा जीतपुर सडक खण्डमा निर्वाचन सुरक्षा बेस स्थापनार्थ टोली पुराएर फर्कदै गरेको सशस्त्र प्रहरीको दुर्घटना भएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणमा कार्यरत टोली दुर्घटनामा परेको हो। टोलीको नेतृत्व सइ गोविन्द सुवेदीले गरेका थिए। तीव्र गतिमा रहेको उक्त ट्रकमा सई सुवेदीसहित पाँच जना सवार थिए।
टोलीलाई सुवेदीले नेतृत्व गरेका थिए। सुवेदीले सिघा बाटो नल्याएर लामो र अफ्ठ्यारो बाटोबाट कुदाउन निर्देशन गरी लापरबाही गरेका थिए। गलत निर्देशनकै कारण सवारी दुर्घटना भएको सशस्त्रको ठम्याइ छ।
उनलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। विओपी कमाण्डर रहेका सुवेदीको कमाण्डमा कमजोरी देखिएको कारण दुर्घटना भएको सशस्त्रले जनाएको छ। प्रवक्ता थापा भन्छन्, ‘घटना हेर्दा कमाण्ड कन्ट्रोल फितलो देखिन्छ।’
त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई पनि निलम्बन गरिएको हो।
एआइजीकै नेतृत्वमा भएको दुवै घटनाको अनुसन्धानमा सुवेदी र मगर दोषी देखिएका हु्न्। प्रवक्ता थापा भन्छन्, ‘भारतमा मृत भेटिएका यादव विदामा रहेको देखिएको छ। तर उनी मगरकै कमाण्डमा रहेका थिए।’
आफ्नो कमाण्डमा भएका प्रहरी को कहाँ जान्छ? के गरिरहेको छ? कमाण्डरले जानकारी राख्नुपर्ने हुन्छ। समयमै रिपोट गर्नुपर्ने हुन्छ। संगठनले आन्तरिक अनुशासन हेर्दा कमाण्डर मगरको लापरबाहि देखिएको छ।
यसले गदा विभागीय कारावाही प्रक्रिया सुरु गरिएको हो। मुद्दा किनारा नलाग्दासम्म उनीहरू दुवै जना निलम्वनमै हुनेछन्। यादव हत्याका विषयमा अनुसनधान भने नेपाल प्रहरीले गरिरहेको छ।