सुर्खेत। नेपाली कांग्रेसका उपसभापति एवंम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले विगतमा भएका सबै किसिमका घटनालाइ मुल्यांकन गर्दै आफ्नाे मत दिन आग्रह गरेका छन्। सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्काले सोमबार गृहजिल्लामा पत्रकार सम्मेलनमार्फत सो बताएका हुन्।
उनले आफु पदभन्दा परिणामलाई प्राथमिकतामा राख्ने बताए। ‘केन्द्रीय नेतृत्वमा कर्णालीको विकासका लागि राष्ट्रिय ध्यान केन्द्रीत गर्ने कुरामा मुलतः समन्वयकारी, भूमिका निर्वाह हुँदै आएको छ’ उपसभापति खड्काले भन्नुभयो, ‘म कार्यकारी पदमा हुँदा वा नहुँदा पनि आफुले निर्वाह गरेका भूमिकामा सन्तुष्ट छु। पदका लागि भन्दापनि विकासका लागि केन्द्रीयस्तरमा हस्तक्षेपकारी भूमिका हुन्छ नै।’
उपसभापति खड्काले भ्रष्टाचारमुक्त, सुशासनयुक्त सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरे। मुलुकमा स्थितरता कायम गर्नुका साथै शान्ती प्रक्रियालाई पूर्णता दिने जिम्मेवारीका लागि गठबन्धन दलहरुलाई मत दिनुपर्ने उपसभापति खड्काले धारणा व्यक्त गरे। उनले जनताको हक र अधिकारको संरक्षण गर्दै स्थानीय तहको निर्वाचन भय रहित, शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सफल रहेको औल्याउँदै मंसिर ४ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरे।
‘मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा विगतका सबै खाले घटनाको मूल्यांकन गर्दै जनताको हक, अधिकार संरक्षण गर्ने दृढ संकल्प बोकेको सत्ता गठबन्धनभित्र सहभागी दलहरुलाई आफ्नो मत दिन अनुरोध गर्दछु।’ उपसभापति खड्काले भने, ‘हामीले सबै जात, वर्ग, समुदायको प्रतिनिधित्व रहेको सुनौलो लोकतान्त्रिक संविधान निर्माण गरेका छौं। संविधानको रक्षार्थ सडकदेखि सदनसम्म हस्तक्षपकारी भुमिकामा रहेका पार्टीहरुबीच गठबन्धन बनेको छ। हामी साझा उम्मेदवारी लिएका छौं। जनताबाट अनुमोदन हुनका लागि हामी निर्वाचनको महायज्ञमा सामेल भएका हौं।’
सुर्खेतको विकासका सन्दर्भमा विगतमा आफुहरुले सुरुआत गरेका भौतिक पूर्वाधार निर्माणका अधुरा आयोजनालाई पूर्णता दिने एजेण्डा रहेको उपसभापति खड्काले बताए। उनले जनताको आर्थिक उन्नतीका लागि उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका प्रचुर सम्भावनाको उपयोग गरिने बताए।
भेरीको जलश्रोतलाई बहुआयामिक उपयोग, भेरी– बबई आयोजनाको शिलान्यास हुनुपूर्व गरिएका अभियानको पूर्णता, कर्णालीको धिपधिपे बत्तीलाई चमकदार बनाउन १३३ के.भि.ए. प्रसारण लाईन विस्तार, कर्णालीका सबै गाउँ–गाउँमा विशेषज्ञ सहितको चिकित्सकीय सेवा, व्यवस्थित र गुणस्तरीय विश्वविद्यालय, व्यवस्थित राजधानी शहर लगायतका थुप्रै आयोजनाको पूर्णता दिनु आफ्नो मूल एजेण्डा रहेको बताए।