सुर्खेत। संयुक्त व्यवसायी संघर्ष समितिले असाेज २८ गते (शुक्रबार) सुर्खेत बन्द आह्वान गरेको छ। बैंकहरुले जबरजस्ती रुपमा ब्याजदर र ब्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्धमा बन्द आह्वान गरिएको जनाइएको छ।
मुलुकमा आर्थिक संकट सिर्जना भैरहेको बेला निजी क्षेत्रलार्य थप समस्याग्रस्त पार्ने गरी बैंकहरुले सिण्डिकेट लगाई कडाई गरेकोप्रति प्रतिवाद गर्न बन्द आह्वान गरिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् संघर्ष समितिका संयोजक लक्षमण कँडेलले जानकारी दिए।
कँडेलका अनुसार सुर्खेतका मुख्यतः वीरेन्द्रनगर बजार पूर्णरुपमा बन्द गर्न भनिएको छ। बन्दका क्रममा व्यापारिक पसलहरु बाहेक अन्य यातायातका साधन तथा सार्वजनिक कार्यालयहरु भने खुल्ला रहनेछन्।
संघर्ष समितिले विभिन्न ६ बुँदे माग प्रस्तुत गरेको छ। जसमध्ये कर्जाको ब्याजदरमा एकल अंक कायम गरी स्थायित्व हुनुपर्ने, बैंकहरुले विभिन्न शिर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनैपनि शुल्क महसुल लिन नपाउने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु गर्नुपर्ने, कर्जाको व्याजदर पुनःसंरचना गर्नु दिनुपर्ने, बैंकले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रिया २०७९ चैत्र मसान्तसम्मका लागि रोक्ने र राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग राखिएको छ।
संघर्ष समितिमा सुर्खेत उद्योग वाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, संयुक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग व्यापार महासंघ (कर्णाली प्रदेश), उद्योग व्यापार संघ सुर्खेत, मप ट्रक तथा ट्याक्टर व्यवसायी संघ सुर्खेत र कर्णाली स्वंयम् सेवक दलको ऐक्यवद्धता छ।