काठमाडाैं। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र (जीडीपी) ४.२ प्रतिशतले वृद्धि हुने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले प्रक्षेपण गरेको छ।
आइएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउट लुकमा यस्तो प्रक्षेपण गरिएको हो। प्रतिवदनले सन् २०२३ मा नेपालको अर्थतन्त्र पाँच प्रतिशत र सन् २०२७ मा पुग्दा ५.३ प्रतिशतसम्म मात्र वृद्धि हुने प्रक्षेपण समेत गरेको छ।
त्यस्तै आइएमएफका अनुसार चालु आर्थिक वर्षमा नेपालमा मूल्य वृद्धि ८.१ प्रतिशत र सन् २०२३ मा भने यो दर घटेर ७.१ प्रतिशतमा सीमित हुनेछ। चालु खाता भने अर्थतन्त्रको आकारको आधारमा १२.१ प्रतिशतले घाटामा रहने उल्लेख छ। गत आर्थिक वर्षमा नेपालको चालु खाता ६ खर्ब २३ अर्बले घटामा थियो। मुलुकले आयात निर्यात, रेमिटेन्सबाट प्राप्त गर्ने आम्दानी लगायतको आधारमा मुलुक भित्रने रकम र बाहिरीने रकम चालु खाताले देखाउँछ।
आइएमफले विश्वको अर्थतन्त्रको वृद्धि समेत ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। सन् २०२१ मा भने ६ प्रतिशतको वृद्धि भएको थियो। सन् २०२२ मा विश्वमा महंगी समेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण आइएमएफको छ। आइएमएफले विश्व अर्थतन्त्रमा वृहत र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशक यताकै उच्च भएको उल्लेख गरेको छ।
आइएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरि लक्षित हुनुपर्ने उल्लेख गरेको छ। यद्यपी यी नीतिहरुमा धेरै लचिलो हुन नहुने समेत औल्याएको छ।