सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा शाखा प्रमुख भण्डारीविरुद्ध बुधवार विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
प्रमुख भण्डारीले आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो। तर, भण्डारीले कार्यालयको नामबाट बैङ्कलाई पत्र लेखी दस्तखत गरी २० लाख ७८ हजार छ सय रुपियाँ आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
प्रमुख भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर भएकाले २० लाख ७८ हजार छ सय रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरी आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीको भनाइ छ।