सुर्खेत। भेरीगंगा नगरपालिका –५, गेरवानी जंगलमा दुई जना मृत भेटिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्खेतले जनाएको छ।
गेरवानीका ४८ वर्षिय रामबहादुर चन्द र ६७ वर्षिय महिला कवि ओली जंगलमा मृत भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए। ‘घरबाट विहान ८ बजे घाँस काट्न जंगल गएका उनिहरु घर नफर्किएपछि स्थानीयले ४ बजे प्रहरीलाई खबर गरेका थिए।’ डिएसपी कार्कीले भने, ‘उनिहरुको घरबाट करिब ५ सय मिटर टाढा जंगलमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको प्रारम्भिक अनुसन्धान हुँदा जंगली जनावरले आक्रमण भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।’
आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देबदत्त गण र स्थानियवासीको संयूक्त टोलीले मृत अबस्थामा फेला पारेको थियो।
मृतक रामबहादुर चन्दको पेट र कबि वलीको घाँटीको भागको मासु नभएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ।
मृतक २ जना स्थानीय छिमेकी हुन्। उनिहरू करिब २ सय मिटरकाे फरक दुरीमा मृत भेटिएकाे थिए।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।