सुर्खेत। वीरेन्द्रनगर नगरपालिकामा नगरकार्यपालिकाको निर्णय विपरित ठेक्का गरिएको छ। एउटै कामका लागि कार्यपालिकामा भएको निर्णय बमोजिम नभै फरक प्रकृतिबाटै ठेक्का गरिएको हो।
नगर कार्यपालिकाको असार ३१ गते बसेको बैठकले नगरभित्र हुने कबाडी मालसामानहरुको व्यवस्थापनका लागि ई–बिड मार्फत ठेक्का आह्वान गर्ने निर्णय गरेको छ। सार्वजनिक खरिद ऐन बमोजिम ई–बिड मार्फत गरिएको ठेक्का आह्वानमा राष्ट्रिय तथा अर्न्तराष्ट्रिस्तरका जोसुकै फर्म वा कम्पनीले प्रतिस्पर्धा गर्न पाउछन्।
तर, कार्यपालिका बैठकबाट पारित निर्णय बमोजिम नभै फरक प्रकृतिबाट ठेक्का प्रक्रियाा भएको छ। नगरपालिका कार्यालयले ई–बिड नगरी सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो। कार्यालयले साउन १० गते न्यूनतम् सात लाख ५० हजार कबोल अंक राखी पत्रिकामा ठेक्का आह्वानको सूचना प्रकाशन गरेको थियो।
ई–बिड हुँदा धेरै फर्म तथा कम्पनीको प्रतिस्पर्धा भै न्यूनतम् कबोल अंकभन्दा धेरैमा ठेक्का हुनसक्थ्यो। तर, कर्यालयका कर्मचारीले निश्चित फर्म वा कम्पनीलाई अनुकुलका ठेक्का पार्नका लागि फरक प्रकृतिको ठेक्का आह्वान गरिएको आरोप लगाइएको छ।
कार्यपालिका बैठकको निर्णय बमोजिम नभै फरक प्रकृतिको ठेक्का आह्वान हुनुको कारणबारे प्रतिक्रिया दिँदै नगरप्रमुख मोहनमाया ढकालले निर्णय संशोधन गरिएको भन्दै बचाउ गरिन्। तर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने असार ३१ गते पछाडी कार्यपालिका बैठक नबसेको जानकारी दिए। तिवारीका अनुसार त्यसयता आज (बिहिबार) पहिलो बैठक बस्दै छ।
बैठक नै नबसी निर्णय संशोधन गरिएको बारे नगरप्रमुख ढकालले दिएको प्रतिक्रियाले ठेक्का प्रक्रियामा थप आशंका उब्जाएको छ।