सुर्खेत। कर्णाली प्रदेशमा काेराेना संक्रमण दर बढ्न थालेकाे छ। पछिल्लाे एक महिनामा देखिएकाे संक्रमण दर बढ्दै गएकाे हाे। याेसँगै कोभिड–१९ को चौथो लहर सुरू भएको संकेत देखिएको छ।
पछिल्लो एक महिनामा देखिएको संक्रमण दरका आधारमा कोरोनाको चौथो लहर भनेर घोषणा गर्दा पनि फरक नपर्ने जनस्वास्थ्यकाे भनाइ छ। ‘घोषणा नहुनु फरक कुरा हो, हाम्रो तर्फबाट भन्ने हो भने यहाँ कोभिडको चौथो लहर सुरू भइसकेको भन्दा हुन्छ,’ स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले भने, ‘संक्रमण दर र नागरिकको बेवास्तालाई हेर्दा जोखिम पनि निकै छ।’
स्वास्थ्य सेवा निर्देशनालयसँग भएको तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो एक महिनामा १४३ जनामा कोरोना संक्रमण देखिएको छ। असार २१ अघि तीन महिनासम्म कोभिड संक्रमण दर शून्य थियो।
असार २१ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो। यो बढेर साउन २१ गतेसम्म १४३ जनामा संक्रमण देखिएको हो।
हाल कर्णालीमा कोरोनाको दैनिक संक्रमण दर औसतमा पाँच जना छ।
आइतबार आरटी पिसिआर परीक्षण गरिएका ८ जनामध्ये ४ जनामा संक्रमण देखिएको थियो भने एन्टिजेन परीक्षण गरिएका ११ जनामध्ये १ जनामा संक्रमण देखिएको थियो।
‘परीक्षण गराएकामध्ये ५० प्रतिशतमा संक्रमण देखिनु भनेको डरलाग्दो अवस्था हो,’ निर्देशक डा. खड्काले भने, ‘पछिल्लो समय कोभिड परीक्षण गराउन पनि आउँदैनन्, परीक्षण गराउन आउनेहरूमा स्वास्थ्यकर्मी, अरू कर्मचारी वा विदेश जाने मानिसहरू छन्।’
कोभिड संक्रमण दर बढ्दै जानु र परीक्षणमा सर्वसाधारणले चासो नदिनुले चौथो लहरको उपचार तथा रोकथाममा चुनौती बढेको उनी बताउँछन्।
कोभिड–१९ सुरू भएयता हालसम्मको तथ्यांक हेर्दा कर्णाली प्रदेशमा ३९ हजार ९ जनामा कोरोना संक्रमण भएको छ। १ लाख ९७ हजार ३३८ जनाको कोरोना परीक्षण गरिएको थियो। संक्रमितमध्ये ३९१ जनाको मृत्यु भएको छ।
पछिल्लो समय कोभिड संक्रमण दर बढ्दै जाँदा त्यसको प्रतिकार्य तथा व्यवस्थापनमा अरू पनि थुप्रै समस्या तथा चुनौती छन्।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दरबन्दी अनुसार तालिम प्राप्त जनशक्तिको पदपूर्ति नहुनुले चुनौती बढेको छ।
निर्देशनालयका अनुसार हाल कर्णाली प्रदेशमा ८८८ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी छ। जसमध्ये ५६७ दरबन्दी अझै पूरा भएका छैनन्। दरबन्दी करार र अन्य करारमा गरी ७९७ स्वास्थ्यकर्मी कार्यरत छन्।
पर्याप्त मात्रमा एम्बुलेन्स तथा शववाहनको पर्याप्त व्यवस्था नहुनु कोभिड प्रतिकार्यको अर्को चुनौती हो।
नियमित विद्युतको आपूर्ति नहुनु, वैकल्पिक ऊर्जाको भरपर्दो व्यवस्था नहुनु, दक्ष जनशक्तिको अभावमा अधिकांश जिल्लामा आइसियू, एडियु र भेन्टिलेटर सञ्चालन हुन नसक्नु, बिरामी प्रेषण केन्द्र स्थापना भए पनि सञ्चालनमा नआउनु पनि चुनौतीका रूपमा छन्।
हिमाली जिल्लाहरू डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव, कोभिडका लागि भर्ना गरिएका करार कर्मचारीहरूका लागि बजेट विनियोजन नहुनु पनि कोभिड प्रतिकार्य तथा व्यवस्थापनमा चुनौतीका रूपमा रहेका निर्देशक खड्काले बताए।
उनका अनुसार चौरजहारी र दैलेखमा जनशक्ति व्यवस्थापन, डोल्पामा अक्सिजन प्लान्ट स्थापना, नर्सिङ तथा पारामेडिक्सको पदपूर्ति, जुम्लामा कोल्ड चेन रूम स्थापना गर्नुपर्ने कोभिड प्रतिकार्यका लागि तत्कालीन आवश्यकताका रूपमा छन्।
कति छन् संरचना र सामग्री ?
कोभिड प्रतिकार्यका लागि आवश्यक पर्ने संरचनामध्ये ७३ वटा आइसोलेसन सेन्टर, १ हजार ८०२ वटा आइसोलेसन बेड छन्।
यस्तै, १ हजार ८०५ वटा अक्सिजन सिलिण्डर छन् भने ४९७ वटा कन्सन्ट्रेटर छन्। जसमध्ये जिल्ला अस्पताल मुगुमा ५२ सिलिण्डर र ४८ कन्सन्ट्रेटर, चौरजहारी अस्पताल रूकुम पश्चिममा १०० सिलिण्डर र १० वटा कन्सन्ट्रेटर, मेहलकुना अस्पताल सुर्खेतमा १०० सिलिण्डर र १५ कन्सन्ट्रेटर, दैलेख जिल्ला अस्पतालमा २५२ सिलिण्डर र ४० कन्सन्ट्रेटर, डोल्पा अस्पतालमा ६२ सिलिण्डर र १० कन्सन्ट्रेटर, रूकुम पश्चिम जिल्ला अस्पतालमा ५९ सिलिण्डर र १५ कन्सन्ट्रेटर छन्।
यसैगरी सल्यान जिल्ला अस्पतालमा ११० वटा सिलिण्डर छन् भने कन्सन्ट्रेटर छैनन्।
जिल्ला अस्पताल जाजरकोटमा २०५ सिलिण्डर र ५२ वटा कन्सन्ट्रेटर, प्रदेश अस्पताल सुर्खेतमा २५० सिलिण्डर र ३० वटा कन्सन्ट्रेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३० सिलिण्डर र ६० कन्सन्ट्रेटर, जिल्ला अस्पताल हुम्लामा १२० सिलिण्डर र १२७ कन्सन्ट्रेटर, कालीकोटमा २१५ सिलिण्डर र ७५ कन्सन्ट्रेटर, दुल्लु अस्पताल दैलेखमा ५० सिलिण्डर र १५ कन्सन्ट्रेटर छन्।
कर्णाली प्रदेशमा १६ वटा अक्सिजन प्लान्ट छन्। जसमध्ये ११ वटा सञ्चालनमा छन् भने चारवटा सञ्चालनमा आउन सकेका छैनन्। एउटा अक्सिजन प्लान्ट जडान कार्य जारी रहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका तीन वटामध्ये एक प्लान्ट सञ्चालनमा छ। अरू दुइटामध्ये एकको जडान कार्य भइरहेको छ भने एउटा सञ्चालनमा ल्याइएको छैन।
चौरजहारी अस्पताल, मेहलकुना अस्पताल र कर्णाली प्रदेश अस्पतालको एउटा प्लान्ट सञ्चालनमा छैनन्।
कालीकोट अस्पतालका २, जाजरकोट अस्पतालमा रहेको १, दैलेख अस्पतालका १, सुर्खेतको कटकुवा स्वास्थ्य चौकीको १, प्रदेश अस्पतालका २, मुगु, हुम्ला र सल्यान जिल्ला अस्पतालमा रहेका एकेक अक्सिजन प्लान्ट सञ्चालनमा छन्।
यस्तै, कर्णाली प्रदेशमा पिसिआर ल्याब चार वटा छन्। तर सञ्चालनमा भने एउटै छ। जुम्ला, दैलेख र चौरजहारीमा रहेका ल्याब अहिले सञ्चालनमा छैनन्। एन्टिजेन परीक्षण सबै जिल्ला, पालिका र समुदायमा उपलब्ध रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
कोभिड हब अस्पताल दुइटा, आइसियु ६८ वटा, एचडियु एकाई ११ वटा, भेन्टिलेटर ३२ वटा छन्।
हाल कर्णाली प्रदेशमा सर्जिकल मास्क ६ लाख १२ हजार १०० पिस, गाउन ६०० पिस, पिपिई २६६ पिस, जुत्तामा लगाइने कभर ६ हजार ६१०, सर्जिकल क्याप ५ हजार ४००, एन्टिजेन किट ९७ हजार २००, रेम्डेसिभिर सुइँ ८१, एन–९५ मास्क १ लाख ५७ हजार ३२०, फेससिल्ड ३५ हजार १४८, सेफ्टी गगल्स १७ हजार ६२५ पिस निर्देशनालयको स्टोरमा मौज्दात छन्।
कतिले लगाए खोप?
कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये १० लाख ७७ हजार ५८२ जनाले कोभिड विरूद्धको पहिलो मात्रको खोप लगाएका छन्। १० लाख ४६ हजार ७४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन्।
बुस्टर डोज लगाउनेको संख्या भने कम रहेको छ। हालसम्म कर्णाली प्रदेशका ४ लाख १३ हजार ४६६ जनाले मात्र बुस्टर डोज खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
अहिले सबै प्रकारका खोप प्रदेशमा उपलब्ध रहे पनि लगाउने व्यक्ति नआउने निर्देशक खड्काले बताए। उनका अनुसार गत महिना मात्र १० हजार डोज खोप खेर गएको छ।