सुर्खेत। सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, असिस्टेन्ट सव इन्जिनियर र ठेकेदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
हुम्लाको अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र असिस्टेन्ट सव इन्जिनियर विनोद थापा विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनिहरूले आर्थिक वर्ष २०७६/७७ मा अदानचुली गाउँपालिका-१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्याई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कार्य गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
उनिहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड (ग) र (ङ) को कसूर ठहर गरी २१ लाख ४७ हजार ४९२ रूपैयाँ विगो दावी गरिएको छ। उनिहरूलाइ सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय समेत माग गरिएको छ।
अख्तियारका प्रवक्ता भण्डारीका अनुसार सडक निर्माणका क्रममा फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाइ झुटो विवरण तयार पारी रकम भुक्तानी दिएका गरेका थिए।
साथै, सोही सडक निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनीका सञ्चालक विरूद्ध पनि मुद्दा दायर भएको छ। ठेकेदार गणेश भण्डारीविरूद्द २१ लाख ४७ हजार ४९२ रूपैयाँ विगो कायम गरिएको छ।