सुर्खेत। अपहरणमा परेका दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ का २७ वर्षिय केशब कुमार विकलाई प्रहरीले सकुसल उद्दार गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसिपुर दाङले केशवलाई मंगलबार उद्दार गरेको हो।
प्रहरी निरिक्षक बखतबहादुर शाहीका अनुसार सोमबार केशवलाई निर्मला नामको फेसबुकबाट कुरा गरी अपहरण गरिएको थियो। केशव काठमाडौंबाट दैलेख फर्किने क्रममा उनिहरुले भेट्ने प्रस्ताव गरेका थिए।
कुराकानीका आधारमा केशव बुटवल बसपार्क झरेपछि निर्मलाले फोनबाट आफन्तको गाडीमा बस्न भनेपछि बाग्मति प्रदेश ०१–०२५ च ८७२९ नम्बरको स्कारपियो गाडीमा दाङ पुर्याइएको थियो।
उनिहरुले केशवलाई दाङको युबम् होटेलको १०६ नम्बर कोठामा बन्धक बनाई राखी सात लाख फिरौती रकम माग गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीले पक्राउ गरिएको प्रहरी निरिक्षक शाहीले जानकारी दिए।
शाहीका अनुसार अपहरणमा संलग्न ६ जनालाई मंगलबार दिउँसाे पक्राउ समेत गरिएको छ। पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–३ बस्ने ३५ वर्षिय लिलाराम विक, वर्ष ३५ कै मार्सल भन्ने नेप बहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षिय सुकलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ बस्ने २० वर्षिय मनोज थारु रहेका छन्।
यस्तै, पक्राउ पर्नेहरुमा प्युठानको गौमुखी गाउँपालिका–७ घर भै हाल तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षि जनक कँवर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने मोतिराम विश्वकर्माको छोरी २६ वर्षिक निर्माण विश्वकर्मालाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।