सुर्खेत। २०७८ असोज २६ गते मुगुमा बस दुर्घटना भयो। दुर्घटनाबाट ३२ जनाले ज्यान गुमाए। १३ जना घाइते भए। नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना भएको थियो। चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको थियो।
यस्तै, २०७९ जेठ ११ गते दैलेखको आठबीस नगरपालिका–३ स्थित सिस्नेमा बस दुर्घटना भयो। उक्त दुर्घटनामा ४ जनाले ज्यान गुमाए। कालीकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटना भएको थियो। क्षमताभन्दा बढी यात्रु भएकोले बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खसेको थियो।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर चार सय दुई वटा सडक दुर्घटना भएका छन्। जसमा एक सय ९७ जनाले सडकमै ज्यान गुमाएका छन्। सडक दुर्घटनाको मुख्य कारण तिव्र गति र यान्त्रिक खराबी रहेको छ।
पछिल्लो तीन वर्षमा कर्णालीमा नौं सय ९२ दुर्घटना भएका छन्। यी दुर्घटनाबाट तीन सय ९२ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३६, २०७७/७८ मा दुई सय ९१ र ७८/७९ मा चार सय दुई सडक दुर्घटना भएका छन्। सडक दुर्घटनाबाट आठ सय ७६ मानवीय र २१ पशुचौपाया क्षती भएका छन्।
३ वर्षको अवधीमा कर्णालीमा तीन सय ९२ जनाको मृत्यु भएको छ। यस अवधिमा एक हजार दुई सय जना घाइते भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा ९७ जना, २०७७/७८ मा ९८ जना र २०७८/७९ मा एक सय ९७ जनाको मृत्यु भएको छ। महिला भन्दा पुरुष र बालिका भन्दा बालकको धेरै मृत्यु भएको छ। तीन वर्षमा १८ पशुचौपायाको मृत्यु भयो भने ३ घाइते भएका छन्।
सडक दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ। तथ्यांक अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समुहका मानिहरुको धेरै मृत्यु भएको छ। तीमध्ये पनि २० देखि २५ वर्ष उमेर समुहका एक सय ७२ जनाले ज्यान गुमाएका छन्।
सडक दुर्घटनाको मुख्य कारण तीव्र गती देखिएको छ। जसले गर्दा तीन वर्षभित्र पाँच सय ३९ वटा दुर्घटना भएका छन्। यस्तै, यान्त्रिक कारणले एक सय ९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांक रहेको छ।
तीव्र गतिका कारण हुने दुर्घटनाको क्रमिक रुपमा वर्सेनी बढ्दै गएको छ।
३ वर्षमा साढे सात करोड राजश्व संकलन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ३ वर्षमा सात करोड ५० लाख १६ हजार तीन सय रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले ट्राफिक नियम उलंघन लगायतका जरिवाना वापतको राजश्व रकम संकलन गरेको हो।
कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा एक रोड ७२ लाख ६४ हजार तीन सय रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ४४ लाख ८९ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको हो।
के छन् ट्राफिक व्यवस्थापनका चुनौती
कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिलक व्यवस्थापनमा जनशक्ति व्यवस्पथान, स्रोत साधनको उपलब्धता, सडकको अवस्था, सवारी चालकको लापरवाही, प्रविधिकको प्रयोगमा अभाव लगायतको चुनौतीहरु देखिएका छन्।
प्रदेशको भूगोल, सडकको अवस्था, बढ्दै गएको शहरीकरण, जनसंख्या तथा सवारी चापको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी कम रहेको छ। अहिले कर्णालीमा दुई सय १८ जना ट्राफिक प्रहरी रहेका छन्। जसअनुसार प्रति ट्राफिक प्रहरी ६३ वटा सवारी साधन रेखदेख गर्नु परेको छ।
मापदण्ड विना बनाईएका सडकहरु, अत्यधिक साँघुरा घुम्ती(मोड)हरु, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमी हुनु खाल्डाखुल्डी सडक र पहिरोका कारण बढी दुर्घटना हुने चुनौती देखिएको छ।
सवारी चालकको लापरबाहीले अत्यधिक गतिमा सवारी चलाउने, ट्राफिक सचेतनाको अभाव, ओभरट्याक गर्ने प्रवृत्ति, लामो रुटमा पनि एकल चालक हुनु, ओभरलोड हुनु, सहचालकले सवारी चलाउनु लगायतका थप चुनौती देखिएका हुन्।