सुर्खेत। आन्तरिक राजश्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/०७९ मा डेढ अर्ब बढी राजश्व संकलन गरेको छ। आन्तरिक राजश्व कार्यालय सुर्खेतमा ६९ हजार बढी करदाता दर्ता छन्। ४० हजार करदाताबाट एक अर्ब ६७ करोड राजश्व संकलन गरिएको हो।
गत आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यअनुसार ८१ प्रतिसत मात्रै राजश्व संकलन भएको कार्यालयका करअधिकृत खडानन्द खत्रीले जानकारी दिए।
आयकर (स्वास्थ्य सेवा, शिक्षा सेवा, घरबहाल कर, ब्याजकर), अन्तशुल्क र मुल्य अभिवृद्धि (भ्याट)वापत उक्त रुपियाँ सङ्कलन भएको हो।
आयकर वापत एक अर्ब २५ करोड लक्ष्य रहेकोमा ९९ करोड रुपियाँ संकलन भएको छ। अन्तशुल्क वापत तीन करोड १७ लाख लक्ष्य रहेकोमा दुई करोड ६४ लाख रुपियाँ संलकन भएको छ भने मुल्य अभिवृद्धि कर वापत ६७ करोड रुपियाँ राजश्व संकलन भएको कर अधिकृत खत्रीले जानकारी दिए।
करदातामध्ये सबैभन्दा धेरै मुल्य अभिवृद्धि कर (भ्याट) श्रीनिका एयर कार्गोले दुई करोड आठ लाख राजश्व संकलन गरेको छ भने आयकरतर्फ सबैभन्दा बढी प्रदेश अस्पताल सुर्खेतले एक करोड ७९ लाख र भेरी बबई डाईभर्सन आयोजनाले एक करोड ७० लाख रुपियाँ राजश्व संकलन गरेका छन्।
कोभिड–१९ को प्रभावले लक्ष्य अनुसारको राजश्व संकलनमा समस्या भएको उनको भनाई छ। ‘कोभिड–१९ ले कर संकलनमा प्रभाव पा¥यो। लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन।’ उनले भने, ‘कोभिड प्रभावित करदाताका लागि कर छुट दिँएकोले पनि राजश्व संकलनमा असर पुगेको हो।’