सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले हटाएका करार कर्मचारीलाई सेवा निरन्तता गराउन जिल्ला स्थित चार राजनीतिक दलले अपिल गरेको छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै दलहरुले पालिकाले हटाएका करार कर्मचारीहरूको सेवालाई निरन्तता दिन संयुक्त अपिल गरेका हुन् ।
गुराँस गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । पालिकाको उक्त निर्णयप्रति कर्मचारीले शुक्रबार आन्दोलन गरेका थिए । उक्त घटनाले गम्भिर राजनीतिक दलहरुको ध्यानाकर्षण भएको भन्दै उक्त घटनामा घाइते भएका सबै व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । घाइतेको निःशुल्क स्वास्थ्य उपचारको नेपाल सरकारसँग माग गरेका छ ।
संयुक्त राजनीतिक दलले जिल्लास्थित सबै स्थानीय तहहरुमा कार्यरत करार कर्मचारीहरुका विषयमा अत्यन्तै संवेदनशिल भएको भन्दै करार सेवामा कार्यरत कर्मचारीहरुलाई तत्काल हटाउँदा आम नागरिकहरु सेवा सुविधाबाट प्रभावित हुने र अर्को वैकल्पिक व्यवस्था नभए सम्मका लागि करार सेवाका कर्मचारीलाई यथावत राख्न अनुरोध गरेको हो ।
साथै करार कर्मचारीका विषयमा विधि तथा प्रक्रियाबाट आगामी दिनहरुमा समस्या समाधान हुने भन्दै वार्ता, संवाद र समझदारीबाट समस्या समाधान गर्दै जिल्लामा शान्ति, सुव्यवस्था कायम हुने गरी संयमित र धैर्य रहन संयुक्तरुपमा सरोकारवाला सबैमा अनुरोध समेत गरिएको छ ।
उक्त संयुक्त जारी विज्ञप्तीमा नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र दैलेख जिल्ला उपाध्यक्ष जंगबहादुर शाही, नेपाली काँग्रेसका दैलेख जिल्ला सभापनि मणिराम रेग्मी, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपाली, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य कर्णबहादुर बस्नेतले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।