सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कैद र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको बिहीबारको इजलासले सजाय तोकेको हो ।
युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । सजाय पाउनेहरुले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।
यस्तै, यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ४ हजार रुपैया जम्मा गर्नुपर्ने फैसला भएको तोकेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए ।
जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ परेका थिए ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।