सुर्खेत । सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङ्गस्थित भैरव माध्यामिक विद्यालयको नाममा रहेको जग्गा व्यक्तिले भोगचलन गर्दै आएका छन् । स्थानीय बुदे रोकाय, सगुन रोकाय र पृथ रोकायका परिवारले जग्गा भोगचलन गर्दै आएका हुन् ।
रोकाय परिवारले पुख्र्यौली सम्पत्तिका रुपमा भोगचलन गरिरहेको उनिहरुको दावी छ । तर उक्त जग्गा भने विद्यालयको नाममा छ ।
‘चिंगाड खोला किनारको श्रीखेतमा रहेको कित्ता नं. ९/घ ८९ (क्षेत्रफल ७–२–२–१), कित्ता नं. ९ घ /९५ (क्षेत्रफल ०–५–०–१) को जग्गा विद्यालयको नाममा छ । यो जग्गा २०४०/०४१ सालमा भएको नापीबाट विद्यालयको नाममा आएको हो’ विद्यालयका प्रधानाध्यापक चवानसिंह राना भन्छन्, ‘जग्गा उतिबेला देखि नै रोकाय परिवारले भोगचलन गर्दै आउनुभएको छ ।’
विद्यालयको नाममा रहेको यो जग्गा मात्रै होइन धरमपोखरा बजारमा रहेको जग्गा समेत स्थानीयले भोगचलन गर्दै आएका छन् । ‘विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै छ । त्यसका लागि जग्गा आवश्यक पर्नेहुँदा विद्यालयको नाममा रहेको जग्गा छोडिदिन आग्रह गरेका हौं ।’ प्रअ राना भन्छन्, ‘गत जेठ १४ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट त्यस्ता जग्गाहरु विद्यालयले भोगचलन गर्नका लागि सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्ने निर्णय भएको छ । सोही अनुसार प्रशासनको रोहवरमा अमिन ल्याएर जग्गा छुट्याइने छ ।’
पुर्खादेखि कमाएको सम्पत्ति हो: रोकाय
पुख्र्यौली सम्पत्तिका रुपमा आफुहरुले भोगचलन गर्र्दै आएको बताउछीन् बुदे रोकायकी छोरी मीनाकुमारी रोकाय । मिनाकुमारी हाल चिंगाड गाउँपालिकाको उपाध्यक्ष समेत हुन् ।
‘पुख्र्यौली सम्पत्तिको रुपमा दाई-भाईहरुले खेत भोगचलन गर्दै आएका छन् । बाबुहरु बुदे रोकाय, सगुन रोकाय र पृथ रोकायका सन्तानले अंशबण्डा गरी भोगचलन गरेका छन् ।’ मिनाकुमारी भन्छिन्, ‘कानुनबमोजिम विद्यालयकै हो सकिन्छ भने कानून बमोजिम नै लैजाउन् तर हामी यतिकै दिन सक्दैनौं । किनभने पुर्खादेखि भोगचलन गरेको सम्पत्ति हो ।’
तत्कालीन प्रधानपञ्चले आफ्ना बाबुहरुलाई थाहै नदिएर जग्गा नापी गरेको मिनाकुमारीले बताईन् । ‘तत्कालीन प्रधानपञ्चले बाबुहरुलाई थाहा नदिएर सोझै अर्काको नाममा हालेका रहेछन्, बुवाले छलफल उठाउँदा फेरी नापजाँच गरि विद्यालयको नाममा नामसारी गरेछन् । तर, बुवालाई थाहा भएन । बुवाले आफ्नै नाममा फिर्ता भएको ठानेर कमाउनुभयो’–मिनाकुमारीले भनिन् ।