सुर्खेत । कर्णाली प्रदेशको मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका प्रमुखमा विष्णुकुमार भाम निर्वाचित भएका छन् ।
०७९ को स्थानीय निर्वाचनमा विष्णुकुमारले कुल चार हजार पाँच सय ९९ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डम्वरबहादुर रावल भन्दा सात सय ३९ मतान्तरका साथ विष्णुकुमार निर्वाचित भएका हुन् ।
०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकाकै वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित भएका उनि यसपाली नगरकै प्रमुख पदमा निर्वाचित भएका छन् । उमेरगत तुलनाका रुपमा विष्णुकुमार प्रदेशकै कान्छा नगरप्रमुख हुन् ।
०४७ सालमा मुगुको साविक सार्किवाडा गाउँ विकास समिति मा विष्णुकुमारको जन्म भएको हो । विद्यार्थी जिवनदेखि नै समाजसेवामा रुची राख्ने विष्णुकुमार हाल नेपाली कांग्रेससँग आवद्व छन् ।
०७४ को स्थानीय निर्वाचनमा छायाँनाथ रारा नगरपालिका–४ को वडा अध्यक्ष निर्वाचित हुँदा उनले कुल तीन सय ३३ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी) का उम्मेदवारको तुलनामा उनले एक सय १४ मत बढी ल्याएका थिए ।
वि.सं. २०७६ सालमा उनि छायाँनाथ रारा नगरपालिकामा नेपाली कांग्रेसको नगरसभापति भए । त्यसको दुई वर्षपछि ०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनमा उनि मुगुको प्रदेशसभा ‘क’को उपसभापति भएका छन् । सामाजिक छवि राम्रो देखेपछि विष्णुकुमारलाई ०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले छायाँनाथ रारा नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनाएको थियो ।
यसअघि वडा अध्यक्षको पदमा रहदा उनले जनप्रतिनिधिका रुपमा पाउने सेवा–सुविधा रकम लिएका थिएनन् । यसपाली पनि विष्णुकुमारले सोही निर्णय दोह्रोराएका छन् । निर्वाचितभएसँगै उनले नगर प्रमुखका हैसियतले पाउने सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् ।
उनले भने, ‘नगरप्रमुखका रुपमा मैले पाउने सेवा–सुविधाको रकम एम्बुलेन्स सञ्चालनका लागि खर्च गर्ने वाचा गरेको छु । मतदातासँग गरेको सो वाचा अनुसार नगरका १४ वडामा एम्बुलेन्सको पहुँच पु¥याउन मेरो सबै सेवा–सुविधा वाफतको रकम खर्चनेछु ।’
यसका साथै नगरभर विद्युत सेवा विस्तार, सबै क्षेत्रमा खानेपानीको व्यवस्थापन तथा सरसफाईयुक्त व्यवस्थित गमगढी बजारक्षेत्र आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनि बताउछन् ।