सुर्खेत । कर्णाली प्रदेशस्थित प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पताल सुर्खेतको संयुक्त लागतमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतको सहकार्यमा रगतआपूर्ती गर्दै आएपनि अबभने प्रदेश अस्पताल आफैले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हो ।
रक्तसञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालमा रुपान्तरण गर्न प्रदेश सरकार योजना बनाएर काम गरेको बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले रगत अभावमा ज्यान गुमाउन परेको परिस्थितिबाट मुक्त गर्न प्रदेश अस्पतालबाटै ऐतिहासिक कामको सुरुवात भएको बताए ।
अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले अस्पतालको सेवासुविधा बढाउने क्रममा रक्त सञ्चार केन्द्रको स्थापना गर्न सफल भएको बताए ।