सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बिहीबार घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट नियन्त्रणमा लिइएकामध्ये एमाले निकट युवा संघका प्रतिनिधि र जेन–जी (Gen-Z) समूहका युवाहरु रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहन जंग बुढाथोकीका अनुसार पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ का ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरणा गाउँपालिका–३ का १८ वर्षीय महेश कठायत, १८ वर्षीय मिलन बस्नेत, कालिकोट तिलागुफा नगरपालिका–१ का २४ वर्षीय प्रेम बूढा र कालिकोट शुभकालिका गाउँपालिका–३ का २६ वर्षीय पुष्पराज शाही रहेका छन्।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबार बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त अवधिभर सभा, जुलुस र भीडभाड नगर्न प्रशासनले निर्देशन दिएको थियो।