सुर्खेत । चौकुने गाउँपालिकामा १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनको लागि पालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य पदमा उम्मेदवारी दिएकामध्ये १९ जनाले आफ्नो नाम फिर्ता लिएका हुन् ।
गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी निर्मला सापकोटा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकी पदमा कुमारी राम्जाली (मगर) र स्वतन्त्र तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी राजमति विष्टले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए ।
सापकोटा र राम्जालीले सत्तारुढ गठबन्धनको सहमति अनुसार नाम फिर्ता लिएका हुन् । भागबण्डा अनुसार चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कंग्रेसको उम्मेदवारी कायम रहेको छ ।
यस्तै, सौराम बुढा (वडा नं. २ अध्यक्ष), नगेन्द्र बहादुर बान्तोला (वडा नं. २ अध्यक्ष), मन्जिम राजी (वडा नं. ९ अध्यक्ष), जनक बहादुर विसी (वडा नं. ९ अध्यक्ष), रगे कामी (वडा नं. ८ अध्यक्ष), चन्द्रा नामजाली मगर (वडा नं. ५ अध्यक्ष), नविन आले मगर (वडा नं. ३ अध्यक्ष)ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वाग्लेले शिलापेपरलाई जानकारी दिए ।
वाग्लेका अनुसार सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा सर्जन सिंह कामी, चिन बहादुर विष्ट, नन्दा कुमारी विक, उदय बहादुर सावद, सुर्जादेवी बुढा, जंगबहादुर चलाउने, नेत्र बहादुर विक, दिलामाया विक र बेलादेवी नेपाली रहेका छन् ।
आसन्न निर्वाचनका लागि दुई सय ६ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत वाग्लेले बताए ।
बैशाख ३० गते हुने निर्वाचनका लागि आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।