पहिरोले कर्णाली राजमार्ग ठप्प भएको छ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका-१ गगने खोलामा गएको पहिरोले राजमार्ग ठप्प भएको छ ।
चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आए पनि शनिबार राति ९ बजे गगने खोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । ‘रातिको पहिरोले गाडी सबै रोकिएका छन्,’ उनले भने, ‘गगने खोलामा मोटरसाइकल पनि चल्ने अवस्था छैन ।’ उनका अनुसार सधैं पहिरो झरिरहने गगनेमा एक सय मिटर माथिबाट ठूलठूला ढुंगासहित पहिरो झरेको छ ।
वर्षा लागेसँगै कर्णाली राजमार्गको पहिरोले नागरिकलाई सास्ती भएको छ । असारयता गगनेमा मात्र २३ पटक पहिरो झरिसकेको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ ।
यसैबीच कालिकोटको फुगाड खोलामा पानी बढेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ । फुगाड खोलाको बेलिब्रिज ३ वर्ष अघिको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । कर्णाली करिडोरको फुगाड खोला बढेपछि सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने गाडी ठाउँ ठाउँमा रोकिएका छन् ।