हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो । उक्त पुलको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगन्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।