सुर्खेत । कर्णाली प्रदेशमा साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । सहमतिमा पालिकाको भागबण्डा भएका कर्णालीका आठवटा जिल्लाहरुमा गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरुले अनुशासनको कारबाही गर्ने भएका छन् ।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसबारेमा गठबन्धनले विज्ञप्ति समेत जारी गरी जानकारी गराएको छ ।
गत साता बिहिवारदेखि गठबन्धन दलहरुबीच भएको छलफलबाट सुर्खेत र रुकुम पश्चिमका पालिकाबाहेक अरु आठ जिल्लाका पालिका भागबण्डा भईसकेको छ ।
सहमति अनुसार आठ जिल्लाका पालिकाहरुमध्ये नेकपा माओवादी केन्द्रले २५ पालिका प्रमुख र २६ उपप्रमुख लिने भएको छ । काँग्रेसले २५ प्रमुख र २३ उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिका प्रमुख र १६ उपप्रमुख पाएको छ ।
सहमति नभएको रुकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत जनाएको छ ।